नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई पहिलो उपाधि, जित्यो टी–२० सिरिज

मूलखबर संवाददाता
काठमाडौं

९ भदौ, काठमाडौं । मलेसियामा आयोजित चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनल खेलमा हङकङलाई १३ रनले हराउँदै नेपालले सिरिज जितेको हो । यो नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको पहिलो उपाधि हो ।

महिला टी–ट्वान्टी सिरिजमा नेपाल र आयोजक मलेसियासहित हङकङ र कुवेत पनि सहभागी थिए । शनिबारको फाइनल खेलमा नेपाल र हङकङबीच प्रतिस्पर्धा थियो । नेपालले डकवर्थ लुइस (डीएल) मेथडमा खेल जित्यो ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०१ रन बनाएको थियो । १०२ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेपालले ५ ओभर ३ बलमा एक विकेटको क्षतिमा ३७ रन बनाएको बेला पानी पर्यो । वर्षा नरोकिएपछि डीएल मेथडको आधारमा नेपाललाई १३ रनले विजयी घोषणा गरियो ।

महिला टी–ट्वान्टी सिरिजमा आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत सहभागी भएका थिए । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलेको हो ।