माधव नेपालको निष्कर्षः गठबन्धन र समाजवादी मोर्चा सहारा, कम्युनिष्ट एकतामा निराशा
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन र समाजवादी मोर्चाबाट बाहिर निस्कने अवस्था नरहेको भन्दै पार्टी पङ्क्तिलाई सोही बमोजिम अघि बढ्न आह्वान गरेका छन् ।
नेकपा एसको मंगलबार शुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३९ पेज लामो राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाजस्ता शक्तिको आलोचना गर्दै गठबन्धन जोगाउनुपर्नेमा जोड दिएका हुन् ।
राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि भएको भन्दै एमाले र नेकपा एसबीच के फरक छ भन्ने विषयलाई समेत बुँदागतरुपमा प्रतिवेदनमा उल्लेख गरेका छन् । अध्यक्ष नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै पश्चिमा शक्तिहरूले नेपाललाई चीनविरुद्ध खडा गर्न खोजेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।
त्यस्तै राजनीतिक प्रतिवेदनमा उनले जनताको बहुदलीय जनवादको औचित्य अझै रहेको भन्दै पार्टीले सो विचार छाड्न नसक्ने जनाएका छन् । जबकि झलनाथ खनाल र घनश्याम भुसाललगायतका नेता जबजको चरण समाप्त भएको बताइरहेका छन् ।
बाम एकता सम्भव देखिएन
अध्यक्ष नेपालले तत्कालै नेपालका कम्युनिष्ट पार्टीहरूबीच एकता सम्भव नभएको निष्कर्ष निकालेका छन् । आफ्नो राजनीतिक प्रतिवेदनमा उनले यस्तो निष्कर्ष निकालेका छन् । “अहिले तत्काल कम्युनिष्ट पार्टीहरूबीचको एकता वा वामएकता सम्भव छैन,” उनले उल्लेख गरेका छन् ।
त्यसअघि उनी लेख्छन्— हामीले सुरूदेखि नै क्रान्तिकारी कम्युनिष्टहरू, खासगरी समाजवादी कार्यदिशा अङ्गालेका कम्युनिष्ट घटकहरूबीच एकता हुनुपर्ने कुरामा जोड दिँदै आयौँ । केही साना घटकहरूलाई पार्टीमा एकताबद्ध गरेका पनि छौँ । साथै नेकपा (माओवादी केन्द्र) र जसपालगायतका पार्टीहरूसँग एकता वार्ता पनि चलाएका थियौँ । यस दौरान व्यवहारबाट के स्पष्ट भयो भने अहिले तत्काल कम्युनिष्ट पार्टीहरूबीच एकता सम्भव छैन ।
उनले एकताका लागि पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, सङ्गठनात्मक सिद्धान्त, कार्यक्रम र कार्यदिशाजस्ता मूलभूत विषयमा एकरूपता हुनुपर्ने बताएका छन् । “यी मुख्य विषयमा एकरूपता नभइकन पार्टी एकता हुन सक्तैन । कार्यगत एकता, मोर्चाबन्दी र सहकार्य भने तात्कालिक राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक मुद्दाहरूमा दृष्टिकोण मिल्नेहरूका बीच गर्न सकिन्छ । त्यसैले अहिले पार्टी एकता होइन, समाजवादी कार्यदिशा अङ्गालेका वामपन्थी पार्टीहरूको एउटा मोर्चा बनाएर सहकार्य गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्षमा हामी पुगेका हौँ,” उनले भनेका छन् ।
एकीकृत समाजवादी, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) लगायतका दलहरूबीच पार्टी एकता गर्ने भनेर दलगत वार्ता समितिहरूसमेत बनेका थिए । तर, ती समितिहरू निष्क्रिय भएको भन्दै अध्यक्ष नेपालले असन्तुष्ट व्यक्त गरेका छन् ।