संयुक्त दलित संघर्ष समितिद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र पेस

मूलखबर संवाददाता
काठमाडौं, २४ असार ।

काठमाडौं। ‘संयुक्त राजनीतिक दलित संघर्ष समिति’ले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आइतवार एक ज्ञापनपत्र बुझाउदै दलित समुदायमाथि बढ्दै गएको हिंसाविरुद्ध उचित प्रशासनिक पहल लिन नाग गरेको छ।

तातोपानी गाउँपालिका-४, जुम्लामा अन्तरजातीय प्रेमविवाह गरेको आरोपमा दलित समुदायका मुकुन्द नेपालीको घरमा आगजनी हुनु, आरुघाट, गोरखाका सन्तोष नेपालीलाई अन्तरजातीय विवाहकै कारण जबर्जस्ति करणी मुद्दामा फसाइनु, भगवापुर, सिरहामा दलितहरू माथि धम्की र कुटपिट जारी रहनु तथा बैतडी, कास्की, रुपन्देही, दाङ लगायतका जिल्लामा श्रीङखलाबद्ध भेदभावका घटना भैरहनुले संविधान र कानुनको उपहास भएको जनाउदै संघर्ष समितिले उपप्रधानमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएको हो।

‘अन्तरजातीय प्रेम र विवाह बढ्दै जाँदा त्यसलाई बालविवाह, अपहरण र जबर्जस्ति करणी नाममा दलितहरूलाई फसाउने आपराधिक काम हुँदै आएको छ। तसर्थ प्रशासन र न्यायीक क्षेत्रले अन्तरजातीय प्रेम र विवाहलाई जातीय विभेद र उत्पीडनको संवेदनशीलताबाट बुझ्न जरुरी छ।’ ज्ञापनपत्रमा भनिएको छ। गृहमन्त्रीको नेतृत्वमा केन्द्रमा र प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लामा दलित संगठनहरू, पत्रकार महासंघ र मानवअधिकारवादी समेतको प्रतिनिधित्व हुने ‘जातीय छुवाछूत र विभेद अनुगमन तथा उन्मुलन समिति’ बनाउन समेत संघर्ष समितिले माग गरेको छ।

जातीय छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ लाई संशोधन गरी पीडकलाई कम्तीमा पाँच वर्ष जेलसजाय हुनुपर्ने तथा उचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने माग समेत संघर्ष समितिले गरेको छ। दलित समुदायका सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालयमा ‘दलित सहयोग डेस्क’ स्थापन गर्न र जातका आधारमा होइन थरका आधारमा नागरिकता लिन पाउने अधिकार निश्चित गर्न समेत माग गरिएको छ।

कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी लगायतका पार्टी सम्बद्ध दलित संगठनका अध्यक्ष एवम् प्रतिनिधिहरू र बहालवाला तथा पूर्व सांसदहरू सहितको टोलीले संयुक्त हस्ताक्षर गरेर ज्ञापनपत्र बुझाएको हो। त्यसक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले सबै मागहरू जायज भएको र त्यसलाई प्राथमिकतापूर्वक सम्बोधन गरिने विश्वास दिलाउनुभएको थियो।

आइतबार नै ट्राफिक प्रहरीले पर्यटक सवारीलाई अनावश्यक दु:ख दिएको भन्दै ‘नेपाल पर्यटक यातायात व्यवसायी संघ’ले समेत उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ। ट्राफिक नियम र सडक अनुशासनम अव्वल प्रमाणित भैसकेका र पर्यटन जस्तो राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डसँग सम्बन्धित सवारी चालकलाई पर्यटक नै हैरान हुनेगरी ट्राफिक झन्झट थपिएको गुनासो संघको छ। विश्व सम्पदा सूचीका क्षेत्रहरूमा ढुवानी र अन्य सवारीलाई होइन पर्यटक सवारीलाई पार्किङ गर्न दिनुपर्ने, ठमेल क्षेत्रमा पर्यटन सवारीलाई छिर्न दिनुपर्ने जस्ता मागहरू संघको छ।