चुडामणी शर्मासहित ३ जनालाई ९ वर्ष बढी कैद, २ अर्ब विगाे, ४ अर्ब जरिवाना
विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजाय सुनाएको छ । शर्मा र उमेशप्रसाद ढकाललाई जनही ९ वर्ष तथा लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सजाय सुनाइएको हो ।
विशेष अदालतका अनुसार तीनै जनालाई जनही २ अर्ब ५ करोड २३ लाख ४८ हजार ९ सय ४९ रुपैयाँ बिगो र तीनै जनालाई जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैयाँ जरिवाना भएको छ ।
विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार तीन जनाको हकमा बिगो छ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४७ रुपियाँ कायम भएको छ । कुल बिगो अनुसार अदालतले जनही दुई अर्ब पाँच करोड २३ लाख ४७ हजार ९४९ रुपियाँ कायम गरेको छ । भ्रष्टाचार निवारण ऐनको दफा ७ को व्यवस्था अनुसार अदालतले बिगोको दोब्बर जरिवाना तीनै प्रतिवादीलाई गरेको छ । अदालतले जनही चार अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपियाँ जरिवानाको आदेश गरेको छ ।
यस्तै अदालतले तत्कालीन अध्यक्ष महतलाई कसुरमा नौ वर्ष एक महिना कैद सजाय निर्धारण गरेको छ । शर्मा र ढकाललाई जनही नौ/नौ वर्ष सजाय तोकेको छ । विशेषको फैसलामा चित्त नबुझ्ने पक्षले अब सर्वोच्च अदालतमा पुनरावेदन गर्ने कानुनी सुविधा पाउने छन् ।
कर मिनाह प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनै प्रतिवादीलाई दुई–दुई मुद्दा दायर गरेको थियो । अख्तियारले कर मिनाहाको पहिलो मुद्दामा २०७४ साउन १ गते दर्ता गरेको थियो । महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा कानुनविपरीत कर मिनाह गरिएको विषय उठान भएपछि अख्तियारमा उजुरी परेको थियो । छानबिनपछि अख्तियारले मुद्दा चलाएको थियो ।
विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले मंगलबार सजाय निर्धारण गरेको हो । यसअघिको सुनुवाइमा उनीहरूलाई दोषी ठहर गरिएकोमा मंगलबार सजाय तोकिएको छ ।