तर.. म बसेको शहरको हावा स्वच्छ छैन

डा. उत्तम बाबु श्रेष्ठ
काठमाडौं

म एक सर्वसाधारण नेपाली नागरिक । मेरो देशको संविधानमा स्वच्छ हावामा सास फेर्न पाउने कुरा मौलिक हकको रुपमा राखिएको छ । तर म बसेको शहरको हावा स्वच्छ छैन । गतबर्ष अर्थात सन् २०२२ को ३६५ दिनमा यो शहरको हावा १३५ दिन अर्थात ३७% समय मात्रै स्वच्छ थियो । यो बर्ष जनवरीदेखि अहिले मे १७ सम्म १३६ दिन मध्ये हामीले जम्मा पाँच दिनमात्रै विश्वस्वास्थ्य संगठनले भनेको स्वच्छ हावामा स्वास लिन पायौं ।
मेरो घरमा ७ बर्षको छोरो, ११ बर्षको छोरी छिन् । ६५ बर्षभन्दा बढिका दुई आमा (मेरो आमा र सासुआमा) हुनुहुन्छ । छोरालाई सानैदेखि दम देखिएको छ । मैले उसलाई प्रत्येक हप्ता जस्तो इन्हेलर दिनु पर्दछ । अक्सर उसको स्कुलबाट दिउँसो फोन आउँदा म डरले खंग्रग हुनेगर्छु, कतै उसलाई आस्मा अटाक्ट त भएन भनेर । केहि समय पहिले मात्रै यसै वृहद नागरिक आन्दोलनका एक अभियन्ता तथा लेखक राजेन्द्र महर्जनजीले आफ्नो बुबाको मृत्यु र वायूप्रदुषणसँग सम्बन्धित लेख लेख्नु भएको थियो । आजको यस कार्यक्रमका आदरणीय नागरिक डा देवेन्द्रराज पान्डे आउनु भएको छ । उमेरको कारण वायू प्रदुषणको असर उहाँलाई बढि पर्दछ । वायू प्रदुषणको समस्या मेरो, राजेन्द्रजीको र देवेन्द्र पान्डेको मात्रै समस्या होइन, यो अहिलेको नेपालको घर घरको समस्या हो । यो सम्पूर्ण देशको समस्या हो । विकराल समस्या हो ।
अहिले नेपालको हावाको गुणस्तर विश्व स्वास्थ्य संगठनले तोकेभन्दा १७ गुणा ज्यादा खराब छ । यहाँको हावामा स्वास फेर्नु भनेको दैनिक ४ खिल्ली चुरोट सेवन गरे वरावर हो । अन्यदेशहरुसँग हाम्रो देशको हावालाई तुलना गर्ने हो भने हाम्रो देशको वायूको गुणस्तर विश्वमा तेश्रो खराब छ । संसारका १८० देश मध्ये हामी १७८ औं स्थानमा, हामी भन्दा अघि भारत १७९ औं र पाकिस्तान सबैभन्दा पुछारमा अर्थात १८० औं स्थानमा छन् ।
तर वायू प्रदुषणको समस्या नेपाल, भारत वा पाकिस्तानको मात्रै समस्या होइन, यो विश्वव्यापी समस्या हो । विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वका ९९ प्रतिशत मानिसहरु खराब वायूमा स्वास फेर्छन् । त्यसै हुनाले संयुक्त राष्ट्रसंघले मानव अस्थित्वको लागि तीन प्रमुख खतरा ट्रिपल प्लानेटरी क्राइसिस मध्ये वायू प्रदुषणलाई एक भनेको छ । जैविक विविधता ह्रास, र जलवायू परिवर्तन अन्य दुई ठूला महासंकट हुन् । मलाई लाग्छ, जनस्वास्थ्यको हिसाबले वायू प्रदुषण यी दुई भन्दा सबैभन्दा ठूलो महासंकट हो । किनभने यसको कारण विश्वमा बर्षेनी ७० लाख मानिसहरुको मृत्य हुने गर्दछ । र, नेपालमा पनि बर्षेनी ४२ हजार मानिसहरुको मृत्यू हुने गर्दछ ।
तर यहाँ भूल्न नहुने कुरा के हो भने, विश्वभर वायू प्रदुषणको कारण हुने मानवमृत्यदरमा विगत ३० बर्षमा घटि रहेकोमा नेपालमा भने वायू प्रदुषणको कारण हुने मानवमृत्यदर बढि रहेको छ । जुन चिन्ताजनक छ ।
वायू प्रदुषण विभिन्न कारणले हुने गर्दछ । प्रदुषित हावामा ठोस, तरल र ग्याँसहरु तत्वहरु हुन्छन् । ती मध्ये यी पाँच प्रदुषक PM 10 and PM 2.5), carbon monoxide (CO), ozone (O3), nitrogen dioxide (NO2), and sulfur dioxide (SO2) प्रमुख छन् । ती ग्याँसहरुको धनत्वको आधारमा प्रदुषण मापन गर्ने गरिन्छ । विशेषगरि दुई मापन विधी छन् । एउटा अमेरिकाको वातावरण संरक्षण निकाय र अर्को भारतको वातावरणीय इकाइले अपनाउने । दुवैको रेन्ज एउटै हो, भारतमा आठवटा प्रदुषक लिन्छन् भने अमेरिकामा छ वटा ।
यसको रेन्ज शुन्य देखि ५०० सम्म हुन्छ । शुन्य राम्रो र ५०० अतिखराब । अहिले हामी वसिरहेको मार्टिन चौतारीको हलबाट सबैभन्दा नजिकको प्रदुषण मापन गर्ने ठाँउ नेपाल स्वास्थ अनुसन्धान प्रतिष्ठान हो । त्यहाँको वायूअहिले १५४ एक्यूआई छ । जुन भनेको अस्वस्थकर हावा हो ।
वायू प्रदुषणका विभिन्न स्रोतहरुका बारेमा पछि बोल्ने साथीहरुले चर्चा गर्नु होला तर धेरैलाई वायू प्रदुषण भन्दा काठमाडौंको मात्रै समस्या हो कि जस्तो गर्छन् तर महेश्वर रुपाखेती जीहरुको समुहले गरेको यो अनुसन्धानले काठमाडौं मात्रै होइन मधेश प्रदेश र तराईका भूभागमा प्रदुषकको मात्रा झनै् बढि देखाएको छ । त्यसैगरि यूर्निभरसीटी अफ सिकागोका अध्येताहरु निर्मित यो नक्सामा पनि तराईका यी जिल्लाहरुमा पिएम २.५ धुलोका कण काठमाडौंभन्दा बढि मात्रामा रहेको देखाउँछ ।
त्यसै विश्वविद्यालयले निकालेको एयर क्वालिटी लाइफ इन्डेक्स्का अनुसार, वायू प्रदुषणको कारण नेपालीहरुको आयू ४ बर्ष छोटिन्छ । अर्थात विश्व स्वास्थ्य संगठनको मापदन्ड अनुसार हाम्रो वायूको गुणस्तर हुन्थ्यो भने हामी लगभग ४ बर्ष बढि बाँच्न सक्थ्यौं । महोत्तरी, सर्लाहीका नेपालीहरुको थप सात बर्ष बढि बाँच्न सक्दथे । त्यसकारण वायू प्रदुषणले मानव विकास सुचांकमा सबैभन्दा उपल्लो काठमाडौंलाई भन्दा पिधमा परेको र उच्च जनधनत्व भएको प्रदेश २ का मानिसहरुलाई बढि असर गरेको छ ।
थप वायु प्रदुषणले नेपालमा निजी गाडीमा हिड्ने ३ प्रतिशत मान्छेहरुलाई भन्दा सडकमा हिड्ने पैदलयात्री, सार्वजनिक सवारीसाधन चढ्ने, मोटरसाइकल यात्री र घर बाहिर काम गर्ने मानिसहरुलाई बढि असर गरेको छ । यसले सम्वेदनशिल उमेर समुहका बुढापाका र मेरा छोरा जस्ता बच्चाहरुलाई गरेको छ । त्यसैले वायू प्रदुषण सबैको साझा मुद्दा त हो नै तर यो भुँई मान्छेहरुको लागि झनै् ठूलो मुद्दा हो । यो सबै नागरिकहरुको मुद्दा हो । म मेरो छोराछोरीले स्वच्छ हावामा स्वास फेर्न पाउन भन्नको लागि नागरिक आन्दोलनको यस सभामा उपस्थित छु । धन्यवाद । -(जलवायु परिवर्तन सम्वन्धि विज्ञ श्रेष्ठको स्वच्छ  हावाकाे लागि नागरिक हस्तक्षेप विषयक कार्यक्रममा व्यक्त विचार)