एमाले सचिव सांसद टाेपबहादुर रायमाझी काठमाडौंबाट पक्राउ

मूलखबर संवाददाता
काठमाडौं, ३१ बैसाख

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव तथा पुर्वउपप्रधानमन्त्री टाेप बहादुर रायमाझी अन्ततः पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार सांसद टोपबहादुर रायमाझीलाई प्रहरीले काठमाडौँको बुढानीलकण्ठको पासिकोट क्षेत्रबाट आज साँझ पक्राउ गरेको हो ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौँले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसबेला अर्घाखाँचीमै रहेका उनले प्रहरीलाई अनुसन्धानमा सघाउने भन्दै काठमाडौं आउने बताएर फरार भएका थिए । आइतबार उनलाई बुढानीलकण्ठ नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।

बुढानीलकण्ठको पासिकोटमा रहेको नारायण पौडेलको घरमा लुकेर बसिरहेको बेला रायमाझीलाई प्रहरीले पक्राउ गरिएको हो। पौडेल रायमाझीका साथी हुन्। उनी अर्घाखाँचीदेखिकै रायमाझीका छिमेकी पनि हुन् ।

यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई २० वैशाखमा नै पक्राउ गरेको थियो ।