नक्कली भुटानी शरणार्थी बनाएर रकम असुल्ने गिराेहका धमाधम पक्राउ : काे काे मुछिए ?
भुटानी शरणार्थीका नाममा अमेरिका उडाउने भन्दै कराडाैं असुल्ने गिराेहमा संलग्नकाे आराेपमा धमाधम पक्राउकाे क्रम शुरू भएको छ । यस्तो गिराेहमा राजनीतिक नेता र परिवारहरू नै जाेडिएकाे प्रमाणहरू पनि देखिएका छन् ।
तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई मंगलबार र गृह हुँदै अहिले उपराष्ट्रपति कार्यालयमा पुगेका सरकारका सचिव टेकनारायण पाण्डे बुधबार पक्राउ परेका छन् । तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने छोरा सन्दीपलाई बुधबार साँझ प्रहरीले बुटवलबाट नियन्त्रणमा लिएको छ ।
नाइकेहरू केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परेपछि उनीहरूबाट बरामद प्रमाण तथा बयानका आधारमा प्रहरीले थप अनुसन्धान गरेको हो । प्रहरीले आरोपितहरूको बैंकिङ कारोबारलाई पनि पछ्याउँदै अनुसन्धान गरिरहेको छ ।
तत्कालीन गृहमन्त्रीका सल्लाहकार राई मंगलबार पक्राउ परेपछि तत्कालीन गृहसचिव पाण्डे, एमाले सचिवसमेत रहेका पूर्वमन्त्री रायमाझी र छोरा सन्दीपविरुद्ध थप प्रमाण जुटेको प्रहरी अधिकारीहरूको भनाइ छ । मन्त्रीको सल्लाहकारका रूपमा गृह मन्त्रालयभित्र बसेर गिरोहको योजनाअनुसार नीतिगत निर्णयमा प्रभाव पार्दै आएका राईले भित्रका सबै सूचना र दस्ताबेज गिरोहलाई उपलब्ध गराउँदै आएको आरोप छ । राईसहितको गिरोहले तत्कालीन नेकपा नेता रायमाझीलाई पनि साथमा लिएर नीति निर्माणमा प्रभाव पार्दै आएको थियो ।
हिरासतमा रहेका गिरोहका नाइकेहरूले धन्दाका धेरैजसो काम इटहरीको गोकुलम् रिसोर्ट, कलंकीको क्राउन इम्पेरियल र सानेपाको इन्टरनेसनल क्लबमा बसेर गरेको बयान दिएका छन् । यी ठेगानामा बसेर नक्कली कागजातको काम गर्ने तथा पैसा असुलउपर गर्ने गरेको उनीहरूको भनाइ छ । गृह मन्त्रालयबाट आवश्यक नीतिगत प्रबन्ध गर्न र कागजी निर्णय गर्न राजनीतिक तथा प्रशासनिक अधिकारीहरूले साथ दिएको पनि उनीहरूले बताएका छन् ।
भुटानी शरणार्थी समस्या समाधानमा स्थायी उपाय पहिल्याउन गृहका तत्कालीन सहसचिव पन्थीको संयोजकत्वमा गठित कार्यदलका सदस्य गणेश केसीसहितले गिरोहका नाइकेहरू केशव दुलाल र सानु भण्डारीसँग झापादेखि काठमाडौंसम्म उठबस गरेको विवरण प्रहरीले प्राप्त गरेको छ । ललितपुरको महांकाल गाउँपालिकामा माओवादीबाट निर्वाचित अध्यक्ष गणेश केसीले पनि यो गिरोहका नाइकहरूसँग शरणार्थी शिविरमा निकै पटक भेट भएको स्विकारेका छन् ।
भुटानी शरणार्थीका नाममा अमेरिका उडाउने भन्दै सर्वसाधारणबाट १० देखि ५० लाख रुपैयाँ असुल गरिएको भन्दै उजुरी परेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले पहिलो पटक गत चैत १२ मा यसका नाइके केशव दुलाल (मोरङ), सानु भण्डारी (ललितपुर) र टंक गुरुङ (पाँचथर) लाई ललितपुरबाट पक्राउ गरेको थियो । उनीहरूको बयान र उजुरीका आधारमा सागर थुलुङ राई (मोरङ), सन्देश शर्मा पोखरेल (दाङ), डा. इन्द्रजित राई, टेकनारायण पाण्डे र सन्दीप रायमाझी पक्राउ परिसकेका छन् । संगठित अपराधअन्तर्गत अघि बढेको यो मुद्दामा ६० दिनसम्म प्रारम्भिक अनुसन्धान गरेर अदालतमा लैजाने सरकारी वकिल कार्यालयको तयारी छ । तत्कालीन गृहमन्त्री थापाका सल्लाहकार इन्द्रजित राईका छोरा निरज फरार छन् भने थापाका छोरा प्रतीक र पूर्वगृह सचिव महेश्वर न्यौपानेलाई पनि प्रहरीले अनुसन्धानको घेरामा राखेको छ । थापा गृहमन्त्री रहेका बेला सचिव रहेका प्रेमकुमार राई अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त छन् । राईले पनि त्यसबेला ‘इन्द्रजित राईसहितले भुटानी शरणार्थीका नाममा पैसा उठाइरहेको बारे सुइँको पाएर राईलाई बोलाएर यसबारेमा सोधपुछ गरेको’ कान्तिपुरलाई मंगलबार बताएका छन् । गिरोहका नाइके भनिएका केशव दुलाल, सानु भण्डारीलाई गृहमा छँदा कहिल्यै नभेटेको राईको भनाइ छ ।- कान्तिपुरबाट