फ्लाई दुबईकाे जहाजमा चरा ठाेकिएकाे हल्ला मात्रै : पर्यटन मन्त्री :

मूलखबर संवाददाता
काठमाडौं, १३ बैसाख

संस्कृति पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किरातीले सोमबार राति दुबईका लागि उडेको फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको प्रमाणित नभएको स्पष्ट पारेका छन्।

फ्लाइ दुबईले जहाजले चरा ठोक्किएको बताएपछि मन्त्री किरातीले त्यसको पुष्टि नभएका बताएका हुन्।

सामाजिक संजालमा स्टाटस राख्दै उनले भनेका छन्, ‘जहाजमा चरा ठोकिएको हल्ला अहिले सम्म प्रमाणित नभएको कुरा सबैमा स्पष्ट गर्दछु। कृपया मेरो सबैमा बिन्ती छ नकरात्मक हल्ला गर्ने बानी हामी सबैले छोडौं ।कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नु पर्छ नत्र लडिन्छ।’

सोमबार राति जहाजको इन्जिनमा आगो लागेको थियो। आगो लागेको पाइएपछि जहाजलाई काठमाडौंमै अवतरण गराउन खोजिएको थियो तर पछि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त जहाज स्थानीय समयअनुसार मंगलबार बिहान १२ः ११ बजे सुरक्षित अवतरण भइसकेकाे छ ।

फ्लाई दुबइले विमानमा चरा ठाेकिएकाे भनेर फेसबुकमार्फत सार्वजनिक गरेको थियाे । तर नेपालकाे विमानस्थल र वरपर कतैपनि चरा ठाेकिएकाे प्रमाण र भग्नावशेष भेटिएको छैन ।