इन्जिनमा आगाे लागेकाे भनिएको फ्लाई दुबईकाे विमान दुबईमा सुरक्षित अवतरण, चरा ठाेक्किएकाे दावी

मूलखबर संवाददाता
काठमाडौं, १२ बैसाख

काठमाडौंबाट १६९ यात्रुसहित दुबईतर्फ उँडेकाे केही समयमा इन्जिनमा आगाे लागेको भनिएको फ्लाई दुबईकाे जहाज सुरक्षित रूपले दुबईमा अवतरण भएको छ ।

दुबई अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ५७६ एफजेड उडान नम्बरको उक्त जहाज स्थानीय समयअनुसार मंगलबार बिहान १२ : ११ बजे अवतरण भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै ठूलो आवाजसहित जहाजमा आगोको झिल्का देखिए पनि पाइलटले उडानलाई निरन्तरता दिएका हुन् ।

काठमाडौंमै आकस्मिक उडानको तयारी गरिए पनि इन्जिनको समस्या समाधान भएको भन्दै पाइलटले उडानलाई निरन्तरता दिएका हुन् ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार, आगो नियन्त्रणपछि चालक दलले इन्जिनमा कुनै समस्या नपरेको भन्दै उडानलाई निरन्तरता दिने निर्णय गरेको बताए । विमानले धादिङको धार्केमाथिको आकाशमा केहीबेर फन्को लगाएर गन्तव्यतर्फ प्रस्थान गरेको थियो ।

फ्लाई दुबईले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आफ्नो विमानमा चरा ठोक्किएको दाबी गरेको छ । फ्लाई दुबईका प्रवक्तालाई उद्धत गर्दै दुबई सरकारको मिडिया कार्यालयको फेसबुकमा पेजमा विमान उड्नेबित्तिकै चरा ठोकिएको उल्लेख छ।