उपनिर्वाचन : तनहुँमा वाग्ले अगाडि, चितवन र बारामा मतगणना शुरू
बैसाख १० गते आइतबार सम्पन्न तनहुँ क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । चितवन र बारामा भने दिउँसो १ बजेबाट बल्ल मतगणना शुरू भएको छ । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. स्वर्णिम वाग्लेले प्रतिस्पर्धी कांग्रेस उमेदवार गाेविन्द भट्टराईभन्दा करिब दाेब्बर मतले अगाडि देखिएका छन् ।
आइतबार राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान १० बजेसम्मको नतिजाअनुसार उहाँले पाँच हजार दुई सय ५६ मतान्तरले अग्रता लिएका छन्। हालसम्म १३ वडाको मतपरिणाम सम्पन्न हुँदा डा. वाग्लेले दस हजार दुई सय ५९ प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले पाँच हजार तीन मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का सर्वेन्द्र खनालले दुई हजार सात सय ९७ मत प्राप्त गरेका छन् ।
आँबुखैरेनी–१, आँबुखैरेनी–२, आँबुखैरेनी–३, आँबुखैरेनी–४, आँबुखैरेनी–५, आँबुखैरेनी–६, भानु–१०, भानु–८, भानु–३, भानु–७, भानु–४, भानु–५ र भानु–११को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए ।