गण्डकी प्रदेश सरकार ढल्याे : मुख्यमन्त्री खगराजले पाएनन् विश्वासको मत

मूलखबर संवाददाता
पाेखरा, ९ बैसाख

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारी विश्वासको मत लिन असफल भएपछि सरकार ढलेकाे छ । एमाले नेतासमेत रहेका अधिकारीले आज संसदकाे बैठकमा विश्वास माग गरेका थिए ।

उनको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत परेको छ । उनलाई एमालेको २२ र राप्रपाका २ सांसदले मत दिएका हुन् । माओवादीका ७, कांग्रेसका २७ र स्वतन्त्र सांसदले विपक्षमा मत दिएका थिए । उनले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत माग गरेका थिए ।

६० सदस्यीय प्रदेशसभामा सरकार बन्न ३१ मतको आवश्यक पर्दछ । प्रदेशसभाका कांग्रेसका सबैभन्दा धेरै २७ सिट छ । एमालेको २२, सभामुखसहित माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र एक सांसद छन् ।

एमाले संसदीय दलका नेता अधिकारीले माओवादी केन्द्र र राप्रपाको समर्थनमा गत पुस २५ मा मुख्यमन्त्रीमा नियुक्त भई पुस २९ मा विश्वासको मतसमेत लिएका थिए । संविधानको धारा १६८ को उपधारा २ अनुसार उनी मुख्यमन्त्री बनेका थिए । तर, केन्द्रीय सत्ता समीकरण फेरिएसँगै गण्डकीमा पनि माओवादी केन्द्रले चैत १० मा सरकारलाई दिएको समर्थन फिर्तासहित मन्त्रीले राजीनामा दिएपछि अधिकारी सरकार अल्पमतमा परेको थियो । संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री अधिकारीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले शनिबार लिएका हुन् ।