नीजि क्षेत्रलाई संकुचन हुनेगरि कानुन ल्याइनेछैन : प्रधानमन्त्री

मूलखबर संवाददाता
काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई नियन्त्रण वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्ने गरी कुनै कानुन नबनाइने बताउनुभएकाे छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीसँग बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले अर्थतन्त्रमा सङ्कट आएका बेला निजी क्षेत्र सङ्कुचित हुने वा नकारात्मक प्रभाव पर्नेगरी कुनै पनि कानुन नबनाइने बताउनुभयाे।

 

“हाम्रो संविधानले निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने व्यवस्था गरेको छ । अर्थतन्त्र सङ्कटमुक्त भइसकेको छैन । यस्तो परिस्थिति सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य र एकअर्काको हितलाई सम्बोधन गरेर मात्र अर्थतन्त्रका चुनौती छिचोल्न सकिन्छ”, उहाँले भन्नुभयाे, “निजी क्षेत्रलाई बेवास्ता गरेर वा नियन्त्रण गरेर राष्ट्रिय चुनौती सम्बोधन गर्न सकिँदैन भन्नेमा म एकदमै स्पष्ट छु । निजी क्षेत्रलाई बन्देज लगाउने वा नकारात्मक प्रभाव पार्नेगरी कुनै पनि कानुन बनाउँदैनौँ ।”

निजी क्षेत्रलाई समेत राज्यको मर्यादाक्रममा समावेश गर्नेगरी सरकारले छलफल अगाडि बढाएको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयाे ।  उहाँले भन्नुभयाे “मैले तपाईँहरूको साधारणसभामा नै भनिसकेको छु निजी क्षेत्रलाई पनि मर्यादाक्रममा समेटिन्छ । निजी क्षेत्रलाई मर्यादाक्रममा समेट्न कुनै अप्ठ्यारो छैन । मर्यादाक्रम निर्धारण कसरी गर्ने भन्ने विषयमा मात्र हाम्रो ध्यान छ ।”