प्रधानमन्त्री प्रचण्डद्वारा संवैधानिक परिषदको बैठक आव्हान

मूलखबर संवाददाता
काठमाडौं, ४ बैसाख

सत्तारुढ घटक दल र प्रमूख प्रतिपक्षी दलका नेताहरुको छलफल र सहमतिपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठक आव्हान गर्नुभएको छ ।

केहि दिनदेखि परामर्शमा र आन्तरिक छलफलमा लाग्नुभएका प्रधानमन्त्री प्रचण्डले सोमबार प्रमूख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँगसमेत परामर्श र बैठक गरेर सहमति कायम गरेपछि शुक्रबार बिहान ९ बजे सिंहदरबारमा बस्ने गरी बैठक आव्हान गर्नुभएको हो ।

बैठकले प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने बताइएको छ । सोमवार ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बैठक बसेको थियो ।

चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २०७९ मंसिर २७ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की रहेका छन् ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य छन् ।

प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि बस्ने संवैधानिक परिषदको बैठकमा भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सदस्य रहनेछन् । हाल कानुनमन्त्री पद पनि रिक्त छ ।