छानविन समितिमा ढाकाकुमार श्रेष्ठको जिकीर : ‘त्यो आवाज मेरो होइन, मलाई फसाउन खोजियो’
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो टेपको आवाज आफ्नो नभएको दावी गरेका छन् । पार्टीको अनुशासन समितिसँगको बयानमा उनले सो आवाज आफ्नो नभएको जिकीर गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन समितिले बसुन्धारास्थित पार्टी कार्यालयमा श्रेष्ठलाई बोलाएर एक घण्टा बयान लिएको थियो । समितिका एक जना सदस्यका अनुसार, बयानमा उनले सार्वजनिक अडियोमा भएको आवाज आफ्नो नभएको पटक पटक दावी गरे ।
‘मलाई नियतवश फसाउन खोजिएको हो’, उनको दाबी उदृत गर्दै समिति स्रोतले भन्यो, ‘अडियो पूरै एडिटेड हो ।’ बयानका क्रममा उनले आफू लामो समयदेखि स्वास्थ्य क्षेत्रसँग जोडिएको भन्दै सुधार गर्नुपर्ने विषयहरु थुप्रै भएको बताएका छन् ।
समिति स्रोतका अनुसार सोमबार राति बुझाएको स्पष्टीकरणमा पनि उनले यिनै विषयहरु बुझाएका थिए । अडियो सार्वजनिक भएलगत्तै पार्टीले उनलाई निलम्बन गर्दै २४ घन्टे स्पष्टीकरण सोधेको थियो ।
मंगलबार राति उनले समितिलाई एक पृष्ठको स्पष्टीकरण बुझाएका थिए । त्यसमा स्वास्थ्य क्षेत्रका विसंगतिहरु उल्लेख गर्दै आफूलाई फसाइएको दाबी गरेको रास्वपा स्रोतले जनाएको छ । उनले समितिको निर्णय आफूलाई स्वीकार्य हुने पनि उल्लेख गरेका छन् ।
स्वास्थ्यमन्त्री बन्न पार्टीमा बुझाउनुपर्ने भन्दै उनले झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको भन्ने अडियो सार्वजनिक भएको थियो ।
अडियोमा पार्टी सभापति रवि लामिछानेको ‘कोर टिम’लाई बुझाउनुपर्ने भन्दै रकम मागिएको थियो । ‘तर उहाँले आवाज नै एडिटेड हो भन्नु भएपछि कोर टिम भनेको को हो भन्ने कुरै आएन’, समिति स्रोतले भन्यो, ‘यद्यपि, सम्पूर्ण कुरा प्रतिवेदनमा समेट्छौं ।’
समितिका संयोजक भरतमणि देवकोटाले सम्भव भएसम्म मंगलबार साँझै छानबिन प्रतिवेदन बुझाउने तयारी गरिएको अनलाइनखबरलाई बताए । ‘हामीले सिफारिस गर्ने हो, पार्टीले त्यसमाथि निर्णय गर्छ’, उनले थपे, ‘त्यसैले यस क्रममा के के भएको छ भन्ने विषय पछि मात्र सार्वजनिक हुन्छ ।’
सभापति लामिछानेले बाराको गढिमाईमा आयोजित सभालाई सम्बोधन गर्दै दोषी देखिए ७२ घन्टाभित्र श्रेष्ठलाई बर्खास्त गरेर उनको ठाउँमा अर्का सांसद्लाई संसद् प्रवेश गराउने बताएका थिए ।