माओवादी धाराका ९ दलद्वारा संक्रमणकालीन न्यायकाे पक्षमा एक्यवद्धता जनाउन अपील

मूलखबर संवाददाता
काठमाडौं, २८ फागुन

माओवादी धाराका ९ दलहरूले विस्तृत शान्ति सम्झौताका पक्षधर राजनीतिक दलहरु, नागरिक समाज एवं आम समुदायलाई संक्रमणकालीन न्यायको पक्षमा ऐक्यबद्धताका लागि अपिल गरेका छन् ।

आइतबार राजधानीकाे प्रज्ञाप्रतिष्ठानमा आयाेजित संयुक्त पत्रकार सम्मेलनमा उनीहरूले साे अपील गरेका हुन् । उनीहरूले  आवश्यक कानुन बनाई अविलम्ब शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न पनि  सरकारसमक्ष माग पनि गरेका छन् ।

पत्रकार सम्मेलनमार्फत संयुक्त अपिल जारी गर्दै माओवादी धारका ९ राजनीतिक दलहरूले  विस्तृत शान्ति सम्झौता र नेपालको संविधानले द्वन्द्वकालीन घटनाहरुको निरुपण गर्ने जिम्मेवारी सत्य निरुपण तथा मेलमिलाप आयोगलाई दिएको भन्दै संवैधानिक व्यवस्थाभन्दा बाहिर जानु शान्ति सम्झौताविरुद्ध हुने बताएका छन् ।

संयुक्तरुपमा अपिल गर्नेहरुमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी–माओवादी), नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी र आम जनता पार्टी रहेका छन् ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी) र माओवादी कम्युनिष्ट पार्टी, नेपाल रहेका छन् । उनीहरुले कानुन परिमार्जनसहित आयोगलाई पूर्णता दिई शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पूरा गर्न सरकारसँग माग गरेका छन् ।

९ दलले विस्तृत शान्ति सम्झौताका पक्षधर राजनीतिक दलहरु, नागरिक समाज एवं आम समुदायलाई संक्रमणकालीन न्यायको पक्षमा ऐक्यबद्धताका लागि अपिल गर्दै विगतमा राज्यले विभिन्न राजनीतिक दलहरुसँग गरेका सहमति कार्यान्वयनका लागि पनि ससरकारसँग माग गरेका छन् ।