माझी समुदायकाे लदी पर्वमा प्रधानमन्त्रीकाे शुभकामना (पुर्ण पाठ)

मूलखबर संवाददाता
काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माझी समुदायकाे मुख्य पर्व लदी पर्वकाे अवसरमा शुभकामना सन्देश दिनुभएको छ ।

माझी समुदायले फागुन महिनाकाे तेस्रो अर्थात साहिँलि मंगलबार  राष्ट्रिय पर्वकाे रूपमा मनाइने लदि वर्वकाे अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले  यस पर्वले आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने  बताउनुभएको छ ।

प्रधानमन्त्रीकाे शुभकामनाकाे पूरा पाठ-

नेपालको आदिवासी जनजातिअन्तर्गत अल्पसंख्यक सीमान्तकृत जाति माझी समुदायले फागुन महिनाको साहिँली अर्थात् तेस्रो मंगलबार मनाउने लदी पर्वको अवसरमा सम्पूर्ण माझी समुदायसहित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको मुलुक हो । नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरू रहेका छन् । यी चाडपर्वहरूले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

माझी जाति परम्परागत रूपमा पानीसँग नै रमाउँदै र जिउँदै आएको एक विशिष्ट पहिचान भएको जाति हो । विकासका पूर्वाधार, जलविद्युत, सडक आदिको विकासका कारण यस जातिको परम्परागत पेशा बिस्तारै लोप हुँदै गएको छ । यद्यपि, माझी जातिले आजको दिनमा विशेष गरेर नदी र पानीको पूजा गरी मनाउन लागेको चाडपर्वले माझी जाति र पानीको सम्वन्धलाई थप उजागर र स्थापित गर्नेछ ।

वर्तमान सरकार बदलिएको व्यवस्थाअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने संकल्पका साथ अवस्था बदल्न दृढ संकल्पित छ । यस अवसरमा सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न र यस पर्वलाई माझी जाति र अन्य समुदायको बीचमा एकता, सद्भाव र सहकार्य थप बलियो बनाउने ऐतिहासिक अवसरमा रूपमा मनाउन हार्दिक अपील गर्दै फेरि एकपटक शुभकामना व्यक्त गर्दछु ।

१६ फागुन २०७९
पुष्पकमल दाहाल “प्रचण्ड”