प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णय, २७२ मत पाउँदै प्रचण्ड
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकारमा सहभागी नहुने, तर प्रधानमन्त्री प्रचण्डलाई नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
नेपाली कांग्रेसले समेत विश्वासको मत दिने भएपछि प्रधानमन्त्री प्रचण्ड सबैभन्दा वढि विश्वासको मत प्राप्त गर्ने प्रधानमन्त्री बन्ने निश्चित भएको छ । प्रचण्डलाई यस अघि १ सय ६९ जना सांसदको समर्थन रहेको थियो । अब नेपाली कांग्रेसको ८९ मत र नेकपा एकीकृत समाजवादीको १० जना र लोकतान्त्रिक समाजवादीको ३ सांसदको समर्थन प्रचण्डलाई प्राप्त हुने देखिएको छ । यसरी हेर्दा प्रचण्डलाई २ सय ७२ सांसदको विश्वासको मत प्रचण्डलाई प्राप्त हुनेछ । प्रचण्डलाई नेमकिपाको १ जना, राष्ट्रिय जनमोर्चाको १ जनाको समर्थन नआउने देखिएको छ ।
सरकारलाई कांग्रेसले पनि विश्वासको मत दिँदा प्रतिनिधिसभा प्रमुख प्रतिपक्षविहीन हुनेछ । सभापति देउवासहितका शीर्ष नेताहरू भविष्यमै सत्ता पुनरागमनको सम्भावना जीवित राख्न प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनुपर्ने पक्षमा उभिएका हुन् । उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका अधिकांश नेता प्रतिपक्षमा बस्नुपर्ने अडानमा थिए ।