प्रधानमन्त्री प्रचण्डले आज विश्वासकाे मत लिँदै, कांग्रेस पनि सकारात्मक

मूलखबर संवाददाता
काठमाडौं, २६ पुस ।

नेपालकाे ४४ ओैं  प्रधानमन्त्रीकाे रूपमा सरकारकाे नेतृत्व गरेका संघिय लाेकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री  एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिंदै हुनुहुन्छ ।

आज विहान ११ बस्ने संसदकाे बैठकमा उहाँले विश्वासको मत लिने कार्यसूची संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री बनेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उहाँले  १६ दिनमै विश्वासको मत लिन लाग्नुभएको हाे । उहाँ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियाे ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थन याे सरकारलाई छ ।

प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वास लिनुपर्ने संवैधानिक प्रावधान अनुसार प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । २७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने आश्वासन दिएका छन् ।तर कांग्रेसले संस्थागत निर्णय भने गरिसकेको छैन । कांग्रेसले समर्थन गर्दा प्रचण्ड प्रतिपक्षविहिन प्रधानमन्त्री बन्ने पहिलो प्रधानमन्त्री बन्नुहुनेछ ।