सरकारकाे ऐना : न्युनतम साझा कार्यक्रमकाे मस्यौदामा के छन् ?

मूलखबर संवाददाता
काठमाडौं, २३ पुस २३ पुस

नेपालकाे ४४ ओैं प्रधानमन्त्रीका रूपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएपछि सरकारले कस्ताे नीति अख्तियार गर्छ भन्ने आम जिज्ञासाकाे समाधान गर्न कार्यदलले साझा कार्यक्रमकाे मस्यौदा तयार गरेको छ ।

सत्तारूढ गठबन्धनका दलहरूले निर्माण गरेको कार्यदलले   सरकारको साझा न्यूनतम कार्यक्रमको मस्यौदा तयार गरेका छन् । एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको न्यूनतम कार्यक्रमको मस्यौदा शीर्ष नेता सम्मिलित उच्चस्तरीय संयन्त्रबाट आवश्यकताअनुसार परिमार्जनपछि सार्वजनिक गरिने भएको छ ।

मस्यौदामा के छ ?

  • सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धिको अभियानमा बाधक रहेका नीति, ऐन तथा संरचना फेर्ने
  • अति राजनीतीकरणका कारण अक्षम बनेका राज्यका संस्थालाई पुनःसंरचना गर्ने
  • राज्यका निकायहरुबीच प्रभावकारी समन्वय गर्ने
  • कार्यसम्पादन सुनिश्चितताका लागि प्रभावकारी अनुगमन गर्ने
  • उच्चस्तरीय आयोग गठन गरी न्यायपालिकाको शुद्धीकरण एवं सुधार गर्ने
  • आमनागरिकले सहज, छरितो र निष्पक्ष न्याय पाउने सुनिश्चित गर्ने
  • नागरिक प्रशासन र सुरक्षा निकायलाई सक्षम, व्यावसायिक र जनताप्रति उत्तरदायी बनाउन उच्चस्तरीय कार्यदल गठन गर्ने
  • सार्वजनिक खरिद अनुगमन कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रलाई परिणाममुखी र प्रभावकारी बनाउने
  • अख्तियार दुरूपयोग अनुसन्धान आयोगजस्ता नियामक निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनसहित अधिकारसम्पन्न बनाउने
  • कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जोकोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाउने
  • सरकारले पूर्णता पाएको एक महिनाभित्र नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने अवस्था अन्त्य गर्ने
  • नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वीजयन्तीका दिन पुस २७ मा सार्वजनिक बिदा दिने
  • निजी क्षेत्रको लगानी प्रवर्द्धनमा आवश्यकताअनुसार नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने
  • राजस्व प्रशासनलाई थप चुस्त, दुरूस्त तथा करदातामैत्री बनाउने
  • कार्यालय सञ्चालन खर्च कटौती गर्ने
  • शान्तिप्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम छिट्टै सम्पन्न गर्ने