उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठका ३ प्राथमिकता
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजि श्रेष्ठले तीनवटा काममा आफ्नो प्राथमिकता रहेको बताएका छन् । मन्त्रालयमा साेमबार भएको प्रेस सेन्टर नेपालका पदाधिकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले सुशासन, यातायात व्यवस्थापन र भौतिक पूर्वाधारलाई प्राथमिकता दिएको भन्दै त्यसका लागि छुट्टै संयन्त्र निर्माण गरी काम गर्ने योजनामा लागेको जानकारी दिए । उनलेे मन्त्रालय मातहतका सबै कर्मचारीको गुनासा सुन्ने व्यवस्था मिलाएका पनि बताए । मन्त्रालयका कार्यालय सहयोगिदेखि चालकसम्म सबैका गुनासा र सुझाव सुन्नका लागि हरेक महिना बैठक आह्वान गरिएको पनि उनलेे बताए ।
मन्त्री भएपछि हरेक क्षेत्रका व्यक्तिसँग सुझाव संकलन गरिरहेका श्रेष्ठले सोमबार पार्टी निकटका पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालका पदाधिकारीहरुसँगको छलफल आयोजना गरेका थिए । मन्त्री श्रेष्ठले हरेक महिना मन्त्रालयका कर्मचारीका गुनासा सुन्ने र महिनामा दुई पटक मन्त्रालय मातहतका विभागका कर्मचारीका कुरा सुन्ने व्यवस्था मिलाएको जानकारी दिए । त्यस्तै आम नागरिकले भोगिरहेका समस्या, गुनासा र सुझाव लिनका लागि छिट्टै एउटा विशेष संयन्त्र बनाउन लागिएको उनले जानकारी दिए ।
काठमाडौंमा रहेको यातायातको समस्या, लाइसेन्स वितरणको समस्या, प्रदुषण पासको स्टिकर लिन लाग्ने झनझट लगायत विषयमा बागमती प्रदेश सरकार र विभागीय मन्त्रीसँग छलफल गरेर अघि बढ्न चाहेको उनले बताए । त्यसका लागि प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाललाई भोली मन्त्रालयमा बोलाइएको छ । कर्मचारीहरु ढिलो कार्यालय आउने प्रचलन रोक्नका लागि विद्युतीय हाँजिरीलाई कडाइ गरिएको छ । नियमितबाहेक कहिलेकाँही १० मिनेटसम्म ढिला आए कारण बताएर हाँजिर सदर गर्ने र दैनिक १० मिनेट ढिला आएमा गयल गरिने प्रवन्ध मिलाइएको मन्त्री श्रेष्ठले बताए । विशेष कारण परेमा कहिलेकाँही भने छुट दिइने छ ।