सातै प्रदेशमा गठबन्धनको सरकार बन्ने

मूलखबर संवाददाता
काठमाडौं, ११ पुस

नयाँ गठबन्धनले केन्द्रसहित सातवटै प्रदेशमा सरकार गठनका लागि आवश्यक बहुमत जुटाउने देखिएको छ । केन्द्रको गठबन्धनमा रहेका दल एक ठाउँमा उभिँदा प्रदेशमा पनि एमाले गठबन्धनमै सामेल भएका सरकार बन्ने निश्चित देखिएको छ ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहित नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीबाहेक सबै दलले गठबन्धन गरेर केन्द्र र सातै प्रदेशमा सरकार बनाउने सक्ने छन् ।

केन्द्रमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसद समेत गरी १६९ सांसदको गठबन्धन बनेको छ । सो गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरिसकेकी छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड  कांग्रेसगठबन्धनबाट प्रधानमन्त्री हुन चाहेका थिए । तर, प्रधानमन्त्री नपाएपछि आइतबार कांग्रेस नेतृत्वको गठबन्धन छोडेर दाहाल एमाले नेतृत्वमा नयाँ गठबन्धन बनाई प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । एमाले नेतृत्वको सात दलीय गठबन्धनबाट दाहाल केन्द्र सरकारको प्रधानमन्त्री बन्दा सातै प्रदेशमा समेत सोही गठबन्धनको सरकार बन्ने देखिएको छ । प्रतिनिधिसभाको चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेशमा सांसद छैनन् । यद्यपि सातै प्रदेशमा एमाले नेतृत्वको गठबन्धनले कांग्रेसबिनै सरकार बनाउने स्थिति बनेको खबर कान्तिपुरमा छ ।