`सिरियल किलर´ शाेभराजलाई रिहा गरेर स्वदेश फर्काउन सर्वोच्चकाे आदेश
सिरियल किलर’का रूपमा विख्यात चाल्र्स शोभराजलाई सर्वोच्च अदालतले ‘जेलमुक्त’ गर्न आदेश दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई जेलमुक्त गर्न आदेश जारी गरेको हो ।
शोभराजका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइ गर्दैै सर्वोच्चले ‘निरन्तर कैदमा राखिराख्नु बन्दीको मानवअधिकार मापदण्ड, संविधान तथा कानुन प्रदत्त अधिकार अनुकूल नदेखिएको’ भनेको छ । शोभराजको ‘उमेर ७५ वर्ष भइसकेको तथा उनी मुटुसम्बन्धी रोगबाट पीडित भई उपचारको अवस्थामा रहेको तथा तोकिएको कैदमध्ये ७५ प्रतिशत (१९ वर्ष) कैद सजाय भोगिसकेको देखिएको’ आदेशमा उल्लेख छ ।
‘…अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए निजलाई आजै कैदबाट छाडिदिन तथा यो आदेश भएको १५ दिनभित्र देश फर्काउन यो आदेश जारी गरिएको छ,’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘सम्बन्धित जिल्ला अदालतमार्फत कारागार कार्यालय जगन्नाथ देवल काठमाडौंमा छिटो साधनद्वारा आदेशको जानकारी पठाइदिनू ।’
यसैगरी, ‘ओछ्यान पर्ने रोग लागेका कैदीबन्दीका हकमा समेत कैद छुट हुने कानुनी प्रावधान रहेको र शोभराज गम्भीर प्रकृतिको मुटुको रोगी रहेको र ओपन हर्ट सर्जरी गर्नुपर्ने बिरामी रहेको’ फैसलामा उल्लेख छ ।
यसअघि, शोभराज २१ कात्तिक २०७५ मा ‘कैद छुट’ माग्दै सर्वोच्च पुगेका थिए । कैद छुटका लागि सर्वोच्च पुगेको दोस्रोपटक हो ।
कारागार नियमावली प्रावधानअनुसार ‘विदेशी नागरिकले पनि बिनाभेदभाव छुट पाउनुपर्ने’ मागसहित शोभराज सर्वोच्च पुगेका थिए । ‘कुनै पनि अपराधका कसुरदार भए पनि ७० वर्ष उमेर कटेपछि ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने नियमावली व्यवस्था आफूलाई पनि लागू हुने’ मागसहित उनले रिट दायर गरेका थिए ।
शोभराजले कैद छुट पाउनुपर्ने माग गर्दैै गोपाल शिवाकोटी ‘चिन्तन’ले पछिल्लो समय बन्दी प्रत्यक्षीकरण रिट दिएका थिए । शिवाकोटीद्वारा दायर रिटमा शोभराजकी पत्नी निहिता विश्वास र सासु शकुन्तला थापा, लोकभक्ता राणा रामबन्धु शर्माले बहस गरेका थिए ।