संसदीय दल नेतामा गगनकाे उमेदवारी, कांग्रेसमा नयाँ ध्रुवीकरण !
सत्तारूढ दल नेपाली कांग्रेसकाे संसदीय दल नेतामा सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाविरूद्व महामन्त्री तथा युवा नेता गगन थापा भिड्न उमेदवारी दर्ता गराएका छन् । यससँगै नेपाली कांग्रेसमा महाधिवेशन सकिएको एक वर्षमै अर्को महाधिवेशन केन्द्रित नयाँ ध्रुवीकरण सुरू भएको छ । १४ औँ महाधिवेशनमा रुपान्तरण र पुस्तान्तरणको एजेन्डा उठाएर पहिलो र दोस्रो पुस्ताका नेतालाई राम्रो धक्का दिएका तेस्रो पुस्ताका नेताहरूले यसपटक संसदीय दलको नेताको निर्वाचनमै आगामी महाधिवेशन लक्षित नयाँ ध्रुवीकरणको प्रयास गरेका छन् ।
महाधिवेशनमा विभिन्न गुटमा विभाजित भएका पार्टीका प्रभावशाली युवा नेताहरू संसदीय दलको निर्वाचनमा भने सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गरेर महामन्त्री गगन थापालाई अघि सारेका हुन् ।
राजनीतिक विश्लेषकहरूले कांग्रेसमा रुपान्तरण र पुस्तान्तरणका लागि तेस्रो पुस्ताले गरेको यो प्रयासले कांग्रेसलाई सकारात्मक दिशामा अगाडि बढाउने बताइरहेका छन् । त्यसो त, यसअघि पनि युवा नेताहरूको ध्रुवीकरण भने नभएको होइन, तर युवाहरूबीचमै विभाजनको रेखा कोरिँदा यस्ता प्रयासहरू असफल हुँदै आएका थिए ।
पाँच वर्षअघिको आमनिर्वाचनमा कांग्रेस २३ सिटमा खुम्चियो । पराजयको ‘आलो घाउ’ नमेटिँदै नेताहरू विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल र बद्री पाण्डेले संयुक्त विज्ञप्ति जारी गरेर भनेका थिए, ‘पार्टी पराजयको निर्मम समीक्षा हुनुपर्छ, हामी विश्वास दिलाउन चाहन्छौँ, हामी बदलिनेछौँ, कांग्रेसलाई बदल्नेछौँ ।’
०५२ सालमै मुलुकको प्रधानमन्त्री बनेका देउवा अहिले ७६ वर्षका छन् । देउवा प्रधानमन्त्री भइसकेपछि विद्यार्थी राजनीतिबाट उदाएका ४६ वर्षे थापाले यसपटक उनलाई संसदीय दलको नेतामा चुनौती दिएका छन् । तेस्रो पुस्ताका अधिकांश नेता साथ उभिँदा थापाको उम्मेदवारी निकै बलियो बनेको छ ।
संसदीय दलमा देउवा र थापाको उम्मेदवारी दर्ता भएपछि पार्टीमा नेताहरू समेत उहीअनुसार ध्रुबीकृत भएका छन् । पटक पटक देउवासँग प्रतिस्पर्धा गरेका र लामो समय देउवाकै विरोध गरेर प्रतिपक्षी समूह चलाएका नेता रामचन्द्र पौडेल यसपटक भने देउवाको प्रस्तावक बसेका छन् । पौडेल १३ औँ महाधिवेशनमा देउवासँग सभापतिको प्रत्यासी थिए ।
आफ्नै समूहको व्यवस्थापन गर्न नसक्दा १४ औँ महाधिवेशनमा उनी मैदान बाहिर रहे, मतदान समेत गरेनन् । यसपटक भने उनी खुलेरै देउवाको पक्षमा लागेका छन् । पार्टीमा विरासतको नेतृत्व गर्ने नेताहरू विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले त १४ औँ महाधिवेशनमै सभापतिमा देउवालाई मत दिए, अहिले पनि उनीहरू देउवाकै साथ देखिन्छन् ।
यसपटक संसदीय दलको नेताको निर्वाचनमा उमेरले ६० नाघिसकेका नेताहरूमध्ये अधिकांश सभापति देउवाको पक्षमा उभिएका छन् भने पार्टीभित्र आलोचनात्मक र सिर्जनात्मक क्षमता राख्नेहरू महामन्त्री थापाको पक्षमा खुलेका छन् । -कान्तिपुरबाट