क्राेएशियालाई ३-०ले हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश

मूलखबर संवाददाता
काठमाडौं, २८ मंसिर

कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको सेमिफाइनलमा क्राेएशियालाई हराउँदै अर्जेन्टिना फाइनलमा  प्रवेश गरेको छ । दोहास्थित लुसेल आइकोनिक स्टेडियममा मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा साविक उपविजेता क्रोएसियालाई ३-० गोलले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो ।  अर्जेन्टिनाका कप्तान लियाेनल मेस्सीकाे पेनाल्टीबाट अगाडि बढेकाे अर्जेन्टिना अन्ततः ३ गाेल गर्दै सेमिफाइनलमा पुगेको हाे । अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले दुई तथा कप्तान लियोनल मेस्सीले एक गोल गरेका थिए । अर्जेन्टिनाले ३४औं मिनेटमा मेस्सीकाे पेनाल्टी गोलमार्फत सुरुवाती अग्रता लिएको थियो ।

अर्जेन्टिना फाइनलमा पुगेको यो छैटौं पटक हो । सेमिफाइनलमा कहिल्यै नहारेको अर्जेन्टिनाले सन् १९७८ र १९८६ को विश्वकप उपाधि जितेको थियो। अर्जेन्टिना सन् १९३०, १९९० र २०१४ मा पनि फाइनलमा पुगेको थियो ।

मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनाको उत्साह जगाएका थिए । डिबक्सभित्र क्रोएसियाका गोलरक्षका डोमिनिक लिभाकोभिचले अल्भारेजलाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको मौका पाएको थियो । जसलाई मेस्सीले सदुपयोग गरे ।

विश्वकपमा मेस्सीको यो अर्जेन्टिनाका लागि कीर्तिमानी ११औं गोल हो । मेस्सीले यसअघि गाब्रियल बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोडेका हाे ।

जारी विश्वकपमा पाँच गोल गरेका मेस्सी गोल्डेन बुटको समेत दौडमा छन् । मेस्सीसँगै गोल्डेन बुटको दौडमा रहेका फ्रान्सका युवा स्टार केलियन एमबाप्पे पाँच र ओलिभर गिरोडले चार गोल गरेका छन् ।

पाँचौं पटक विश्वकप खेलिरहेका मेस्सीले यस खेलबाट विश्वकपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडी जर्मनीका पूर्व मिडफिल्डर लोथर माथ्युसको नाममा रहेको २५ खेलको कीर्तिमान समेत बराबरी गरेका छन् ।

पहिलो हाफमा दुई गोल गरेको अर्जेन्टिनाका लागि अल्भारेजले ३९औं मिनेटमा गोल गर्दै टोलीको अगता दोब्बर बनाए । उनले काउन्टर प्रहारमा क्रोएसियाका रक्षकलाई छल्दै गाेल गरेका थिए ।

त्यसपछि ६९औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई सजिलै फाइनलमा लगे । उनले दोस्रो गोल मेस्सीको पासमा गरेका थिए ।

अब फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्स र अफ्रिकी देश मोरोक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फ्रान्स र मोरक्कोबीचको दोस्रो सेमिफाइनल खेल बुधबार राति हुनेछ ।  अर्जेन्टिनाकाे फाइनलमा प्रवेशले विश्वभरका दर्शकलाई थप चासाे दिलाएकाे छ ।