आयाे सबै क्षेत्रकाे नतिजा : दाेलखामा माओवादीका कार्की विजयी, कुन दलले कति जिते ?
मंसिर ४ मा भएको निर्वाचनको १ सय ६५ निर्वाचन क्षेत्रकाे मतपरिणाम आइसकेकाे छ । पछिल्लो पटक स्याङ्जा र दाेलखाकाे नतिजा आएसँगै सबै क्षेत्रकाे मतपरिणाम सार्वजनिक भएको हाे । स्याङ्जामा कांग्रेस उमेदवार धनराज गुरूङ र दाेलखामा माओवादी केन्द्रका गंगा कार्की विश्वले विजय प्राप्त गरेका छन् । पाँचदलीय गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस प्रतिनिधिसभामा प्रमुख राजनीतिक दल हुने निश्चित भएको छ । कांग्रेसले ५७ सिटमा जित हासिल गरेको छ । वाम गठबन्धनको बोलबाला रहेको २०७४ को प्रतिनिधिसभा निर्वाचनमा २३ सिट मात्रै जितेको कांग्रेसले यो निर्वाचनमा भने ५७ सिट जितेको हो । यसपटक कांग्रेसले २०७४ मा एमालेसँग मिलेर वाम गठबन्धन बनाएको माओवादी र एमालेबाट विभाजित एकीकृत समाजवादीसहित भएको पाँचदलीय गठबन्धनको अगुवा थियो । जसमध्ये कांग्रेसले ३४ सिटमा पराजय भोगेको छ । गठबन्धनभित्रको सिट बाँडफाँटअनुसार कांग्रेसले ९१, माओवादी केन्द्रले ४३, एकीकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादीले ७ र राष्ट्रिय जनमोर्चाले २ सिटमा उम्मेदवारी दिएका थिए ।
कांग्रेस समानुपातिकतर्फ भने दोस्रो स्थानमा छ । यो समाचार तयार पार्दासम्म कांग्रेसले प्रतिनिधिसभातर्फको समानुपातिकमा २६ लाख ६० हजार २ सय ४६ मत प्राप्त गरेको छ । कांग्रेसले समानुपातिकतर्फ २०७४ को निर्वाचनमा ३१ लाख २८ हजार ३ सय ८९ मत प्राप्त गरेको थियो ।
यो निर्वाचनबाट एमाले दोस्रो दल बनेको छ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा ८० निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार जिताएर संसद्को सबैभन्दा ठूलो दल बनेको एमालेले यसपटक ४४ सिटमा जित हासिल गरेको छ ।
एमालेले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीहरूसँग तालमेल गरेको थियो भने राप्रपा, नेपालका कमल थापा लगायतलाई आफ्नो चुनाव चिह्नबाट चुनावी मैदानमा पठाएपनि जिताउन सकेको थिएन । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याललगायत नै चुनावी मैदानमा पराजित हुन पुगेका छन् ।
यो समाचार तयार पार्दासम्मको परिणाममा एमाले समानुपातिकतर्फ भने सबै भन्दा बढी मत ल्याएको छ । एमालेले २७ लाख ८८ हजार ३ सय ५६ मत ल्याएर समानुपातिकतर्फ अग्रता कायम गरिराखेको छ । २०७४ को निर्वाचनमा समानुपातिकतर्फ एमालेले ३१ लाख ७३ हजार ४ सय ९४ मत प्राप्त गरेको थियो ।
एमालेसँग पार्टी एकता गर्ने उद्घोषसहित २०७४ मा वाम गठबन्धन बनाएर चुनावमा जाँदा ३६ सिट जितेको माओवादी केन्द्र यो वर्ष ठिक आधा सिटमा सीमित भएको छ । लोकतान्त्रिक वाम गठबन्धनबाट ४३ सिटमा उम्मेदवार खडा गरेको माओवादीका १८ उम्मेदवार मात्रै जित्न सफल भएका छन् । माओवादीका महासचिव देवप्रसाद गुरुङ, बहालवाला मन्त्रीसमेत रहेकी उपमहासचिव पम्फा भुसाल, उपमहासचिवहरू गिरिराजमणि पोखरेल र मातृका यादव, सचिव चक्रपाणि खनाल, मन्त्री महेश्वरजंग गहतराजलगायत पराजित भएका थिए ।
समानुपातिकतर्फ पनि माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । माओवादीले समानुपातिकतर्फ ११ लाख ६२ हजार १ सय २४ मत पाएको छ । माओवादी केन्द्रले २०७४ को समानुपातिक निर्वाचनतर्फ १३ लाख ३ हजार ७ सय २१ मत पाएको थियो ।
प्रत्यक्षतर्फ एमालेबाट विभाजित भएर बनेको माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) चौथो दल बनेको छ । प्रत्यक्षतर्फ यो पार्टीका १० उम्मेदवार विजयी भएका छन् । समानुपातिकमा भने यो पार्टीले थ्रेसहोल्ड कटाउन सकेको छैन । हालसम्मको मतगणनामा एकीकृत समाजवादीले २ लाख ९४ हजार ३ सय ६२ मतमात्रै पाएको छ । मतगणना अन्तिम चरणमा रहेकाले यो पार्टीले राष्ट्रिय दल बन्न आवश्यक पर्ने थ्रेस होल्ड (सदर मतको ३ प्रतिशत) कटाउन नसक्ने सम्भावना रहेको छ । प्रतिनिधिसभाको चौथो दलको रूपमा रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ । समानुपातिकतर्फ पनि उल्लेख्य मत हासिल गरेको यो पार्टीले प्रत्यक्षतर्फ सात सिट जितेको छ । समानुपातिकमा यो पार्टीले ११ लाख २४ हजार ५ सय ४३ मत ल्याएर नयाँ पार्टी संसद्मा चौथो स्थानमा रहने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले पनि प्रत्यक्षतर्फ ७-७ सिटमा जितेका छन् । समानुपातिकतर्फ राप्रपाले ५ लाख ५६ हजार ६ सय ३८ मत पाएको छ भने जसपाले ४ लाख २० हजार ९ सय ४६ मत पाएर थ्रेसहोल्ड कटाएको खबर कान्तिपुरमा छ ।