माओवादीले सरकारकाे नेतृत्वमा दावी गर्नु स्वभाविक हाे : गुरूङ
नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सरकारको नेतृत्वमा माओवादीको दाबी स्वाभाविक भएको बताएका छन् । पार्टीको पदाधिकारी बैठकपश्चात पत्रकारसँगकाे कुराकानीमा उनले साे धारणा व्यक्त गरेका हुन् । संविधान निर्माणदेखि अहिलेसम्मको कुरा हेर्दा सरकारको नेतृत्वमा हाम्रो दाबी स्वाभाविक हुन्छ, त्यो दाबी रहन्छ नै,’ उनले भने, ‘तर अहिले एक्लै सरकार बन्ने अवस्था छैन, त्रिशंकु संसद् छ । यस्तोमा दलहरूको सहमति कहाँनेर हुन्छ, त्यसमा भर पर्छ, अहिले हामी गठबन्धनमा त्यही विषयमा छलफलमा जुट्दैछौं ।’
उनले अहिले पार्टीभित्र सरकार गठनको विषय छलफलमा प्रवेश नै नभएको दाबी गरे । ‘यो विषय उठेको छ । तर, उल्लेखनीयरुपमा विषय प्रवेश भएको छैन । हामी अहिले गठबन्धनमा छौं । अहिले गठबन्धनका घटकहरूकै बीचमा छलफल गर्ने अवस्थामा छौं,’ उनले भने, ‘गठबन्धनमा निर्वाचनमा भएका कमीकमजोरी र सबल पक्षहरूकोबारे छलफल गर्ने र कसरी अघि बढ्ने भनेर छलफल गर्ने भन्ने तयारी छ ।’