चुनावी नतिजा : उमेदवारी धेरै भएपनि विजयी महिला उमेदवार धेरै कम, कसरी पुग्ला प्रतिनिधित्व ?
मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभाकाे मतगणना जारी छ । १६५ स्थानमध्ये केही स्थानबाहेक धेरै स्थानकाे परिणाम आइसकेकाे छ । प्रतिनिधिसभाकाे प्रत्यक्षतर्फ १६५ सिटमा ७ जना मात्रै महिला निर्वाचित भएका छन् । मतगणना भइरहेका ५ क्षेत्रमा महिला कडा प्रतिस्पर्धामा छन् । समग्रमा प्रत्यक्षतर्फ कम महिला निर्वाचित हुँदा एकातिर संसद्मा महिला प्रतिनिधित्व विगतभन्दा पनि कमजोर हुने भएको छ भने अर्कोतिर समानुपातिकतर्फ सीमान्तकृत समुदायका पुरुषले समेत अवसर नपाउने सम्भावना बढेको छ । उम्मेदवारीका हिसाबले हेर्दा यस पटक तुलनात्मक रूपमा ०७४ को भन्दा बढी हो । त्यसबेला १२९ जना महिला उम्मेदवार थिए । तीमध्ये १६ जना प्रमुख राजनीतिक दलबाट थिए । जबकि यसपटक प्रमुख दलबाट २५ महिला उम्मेदवार थिए । तर, चार दलको गठबन्धनबाट उम्मेदवार हुँदासमेत धेरै महिला पराजित हुनु दु:खद भएको महिला नेताहरू बताउँछन् ।
२ हजार ४ सय १२ उम्मेदवारमध्ये २२५ जना मात्र महिला थिए, तीमध्ये एमालेबाट ३, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २, माओवादी र नागरिक उन्मुक्ति पार्टीबाट १–१ महिला मात्र निर्वाचित भएका छन् । एमालेबाट धनुषा–३ मा जुलीकुमारी महतो, बारा–३ मा ज्वालाकुमारी साह र कास्की–२ मा विद्या भट्टराई निर्वाचित भएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–२ मा सोविता गौतम र ललितपुर–३ मा तोसिमा कार्की निर्वाचित भएका छन् । नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले कैलाली–१ बाट जितेकी छन् ।
कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा उम्मेदवार रहेका १४ महिलामध्ये ११ जना पराजित भइसकेका छन् । माओवादीकी रेखा शर्माले दाङ–२ बाट चुनाव जितेकी छन् । कांग्रेसका चित्रलेखा यादव र सीता गुरुङ अझै प्रतिस्पर्धामा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ सुनसरी–१ र एमालेकी भगवती चौधरी सुनसरी–३ मा अग्रस्थानमा छन् । एमाले सचिव पद्मा अर्याल उम्मेदवार रहेको स्याङ्जा–२ मा भने मतगणना भएको छैन । संविधानले संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ महिला हुनुपर्ने भनेको छ । समानुपातिकबाट आफ्नो दलबाट निर्वाचित हुने सदस्यमध्ये ३३ प्रतिशत महिला निर्वाचित गराउनैपर्ने व्यवस्था छ । तर, यस पटक प्रत्यक्षमा जित्ने र समानुपातिकमा थ्रेसहोल्ड नपुग्ने दलसमेत छन् । प्रत्यक्षतर्फ १० सिट जितेको नेकपा एकीकृत समाजवादी, ४ सिट जितेको लोकतान्त्रिक समाजवादी पार्टी, ३ सिट जितेको नागरिक उन्मुक्ति पार्टी र १–१ सिट जितेका जनमत र नेपाल मजदुर किसान पार्टीले समानुपातिकमा थ्रेसहोल्ड कटाउने सम्भावना कम छ । यी दल र स्वतन्त्र उम्मेदवार भएर जितेका ५ समेत गरी २४ जना छन् । संविधानको व्यवस्थाबमोजिम संसद्मा ३३ प्रतिशत महिलाको संख्या पुग्न यीमध्ये पनि ७ जना महिला निर्वाचित हुनुपर्ने थियो । तर, यीमध्ये एक जना मात्रै महिला छिन् । जसकारण संसद्मा महिलाको प्रतिनिधित्व ३० प्रतिशतको हाराहारी मात्रै हुने देखिन्छ । तर, महिला नेता र अधिकारकर्मीहरू भने निर्वाचन आयोगले विशेष निर्देशन दिएर भए पनि संसद्मा महिलाको प्रतिनिधित्व घट्न दिन नहुने बताउँछन् ।
कांग्रेसले उम्मेदवारी दिएका ९१ मध्ये ५ जना महिला उम्मेदवार थिए । तर, अहिलेसम्म कांग्रेसले जितेका ४५ सिटमध्ये एक जना पनि महिला छैनन् । महिला उम्मेदवार रहेका तीन क्षेत्रको परिणाम आइसकेको छैन । मकवानपुर–१ मा महालक्ष्मी उपाध्याय (डिना), अर्घाखाँचीमा पूर्वउपसभामुख पुष्पा भुसाल र मोरङ–२ मा पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला पराजित भएका छन् । सिरहा–२ मा पूर्वकोषाध्यक्ष चित्रलेखा यादव उम्मेदवार छिन्, जारी मतगणनामा जसपाका राजकिशोर यादवले अग्रता लिएका छन् ।
नेकपा एमालेले १४१ सिटमा उम्मेदवारी दिँदा ११ महिलालाई उठाएको थियो । एमालेबाट उम्मेदवारी दिएका पाँच महिला पराजित भएका छन् । कञ्चनपुर–३ मा नीरुदेवी पाल, बागलुङ–२ मञ्जु शर्मा, दाङ–१ शान्ता चौधरी, दाङ–३ कोमल वली र डोटीमा गौरीकुमारी ओलीले जित हासिल गर्न सकेनन् ।
माओवादीले ४६ सिटमा उम्मेदवारी दिँदा महिला ७ जना थिए । अहिलेसम्म १४ सिटमा विजयी हुँदा रेखा शर्माले मात्रै चुनाव जितेकी छन्, ६ जना पराजित भएका छन् । शर्माले दाङ–२ मा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई १९६ मतान्तरले हराएकी हुन् । काठमाडौं–२ मा पूर्वसभामुख ओनसरी घर्ती, ललितपुर–३ मा हाल ऊर्जामन्त्रीसमेत रहेकी पम्फा भुसाल, काठमाडौं–१० मा अञ्जना विशंखे, काठमाडौं–७ मा मानुषी यमी भट्टराई, काठमाडौं–९ मा कल्पना धमला, जुम्लामा गोमा गौतम र कञ्चनपुर–१ बिना मगर पराजित भएका हुन् ।
त्यस्तै, गुल्मी–२ मा उम्मेदवार रहेकी एकीकृत समाजवादीकी सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्री पराजित भएकी छन् । सत्ता गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्यूठानमा चुनाव हारिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १३१ क्षेत्रमा उम्मेदवारी दिएकामध्ये १२ महिला थिए । ७ सिट जित्दा काठमाडौं–२ बाट सोविता गौतम र ललितपुर–३ बाट तोसिमा कार्की निर्वाचित भएका छन् । अहिले पाँच सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कोही पनि महिलाले चुनाव जितेका छैनन् । जनता समाजवादी पार्टीले सात जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको थियो । तर, कसैले पनि चुनाव जितेनन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाली–१ बाट चुनाव जितेकी छन् । – कान्तिपुरबाट