सिन्धुपाल्चोक १ बाट माओवादीका माधव सापकोटा निर्वाचित

मूलखबर संवाददाता
काठमाडौं, ८ मंसिर

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा युवा नेता माधवप्रसाद सापकोटा विजयी भएका छन् ।  बुधबार राति  सम्पन्न मत गणना अनुसार उनले निकटतम् प्रतिद्धन्दीका रुपमा नेकपा एमालेका नेता सरेश नेपाललाई हराउँदै प्रतिनिधि सभाको यात्रा पक्का गरेका हुन् ।  एमालेका सरेश नेपाललाई ३३५४ मतले पछि पार्दै विजयी भएका हुन। उनले ३०३७४ मत प्राप्त गरे । जनयुद्धकालीन राजनीतिबाट हुर्केका ४० वर्षीय सापकोटा  पहिलो पटक उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका थिए । सभामुख अग्निप्रसाद सापकोटाले युवा पुस्तालाई मौका प्रदान गरेपछि पार्टीले उनलाई उम्मेदवार बनाएको थियो । सिन्धुपाल्चाेक १ मा  प्रतिनिधि सभा तर्फ ६९ हजार ५ सय ८८ खसेकाे थियाे । प्रदेश सभा १(१) मा ३३ हजार ८ सय ७१ र प्रदेश सभा १(२) ३५ हजार ७ सय १७ मत खसेकाे थियाे । सिन्धुपाल्चाेक क्षेत्र नं २ मा ७६ हजार ७ सय १६, प्रदेश सभा २(१) मा ३७ हजार ६ सय ३७ मत र प्रदेश सभा २(२) मा ३९ हजार ०७९ मत खसेकाे थियाे ।   मत गणनाको सुरुवाती चरणमा अग्रता लिएका नेपाल चौतारा साँगाचोकगढी क्षेत्रको गणना सुरु भएपछि पछि परेका थिए । सो नगरपालिका विजेता सापकोटाको जन्मस्थान हो ।  सो क्षेत्रमा यसअघि सभामुख अग्निप्रसाद सापकोटाले जितेका थिए ।