अबको भिजन, गुणस्तरीय जीवन’ दृष्टिकोणसहित मन्त्री भुसालको घरदैलो शुरु

मूलखबर संवाददाता
ललितपुर, १८ कात्तिक

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं ललितपुर क्षेत्र नं ३ का उम्मेदवार पम्फा भुसालले औपचारिक रुपमा निर्वाचन प्रचारप्रसार शुरु गर्नुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा साझा उम्मेदवार बन्नु भएकी उहाँले ‘अबको भिजन, गुणस्तरीय जीवन’ दृष्टिकोणसहित ललितपुरको ठैबदेखि घरदैलो कार्यक्रम शुरु गर्नुभयो ।

घरदैलो अभियानमा मन्त्री भुसालका साथमा ललितपुर क्षेत्र नं ३ (१)का प्रदेशसभाका उम्मेदवार राजकाजी महर्जन र (२) का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठ पनि सहभागी हुनुभयो । ललितपुर क्षेत्र नं ३ को संयुक्त वाम–लोकतान्त्रिक गठबन्धन दलहरुले निर्वाचन क्षेत्रभित्र घरदैलो अभियानलाई प्रभावकारी बनाउन संयुक्त सर्कुलर जारी गरेको छ ।

उम्मेदवार भुसालले आजै ललितपुर महानगरपालिका वडा नं ३ का महिला दिदीबहिनीसँग छलफल गर्दै आसन्न निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनको उम्मेदवारलाई विजयी बनाउनुपर्ने बताउनुभयो । सो क्रममा उहाँले आफ्नो पहलमा ललितपुर क्षेत्र नं ३ का टोल वस्तीमा जनअपेक्षाअनुसारका महत्वपूर्ण काम भएका र बाँकी काम सम्पन्न गर्नका लागि आफू फेरि जनताको माझमा आएको बताउनुभयो ।

आसन्न निर्वाचनलाई लक्षित गरेर उम्मेदवार भुसालले यसअघि नै आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरिसक्नुभएको छ । उहाँले आसन्न निर्वाचनमार्फत जनअनुमोदित भएर राष्ट्रिय राजनीतिमा ललितपुरका जनताको प्रतिनिधित्व गर्ने दौडमा रहेको र सदा झै अझ प्रभावकारी र सशक्त तथा सेवामैत्री, प्रगतिउन्मुख र स्वाभिमानी जनप्रतिनिधिका रूपमा आफूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास दिलाउनुभयो ।