हामी `हेभिवेट´ हाैँ – रेखा शर्मा

मूलखबर संवाददाता
काठमाडौं

जनयुद्धको समयमा भूमिगत भई २०५७ सालमै माओवादीको केन्द्रीय सदस्य भइसकेकी रेखा शर्मा संसदीय निर्वाचनमा पहिलोपटक प्रत्यक्षतर्फ उम्मेदवार बनेकी छन् । २०७० मा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य बनेकी उनी २०७२ मा सामान्य प्रशासनमन्त्री तथा संविधानसभामा माओवादी सचेतक भइन् ।    सशस्त्र द्वन्द्वको समयमा २०५८ चैत ३१ देखि एक वर्ष सैनिक हिरासतमा बिताएकी उनी २०७४ मा पनि समानुपातिक प्रणालीबाटै सांसद बनेकी थिइन् । त्यसपछि उनी माओवादी केन्द्रको प्रमुख सचेतक बनिन् । संसदीय गतिविधि र कानुन निर्माण प्रक्रियामा सक्रियतापूर्वक भाग लिने सांसदको रूपमा चिनिएकी उनी आगामी मंसिर ४ मा हुने निर्वाचनमा दाङ–२ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनेकी छन् । उनको प्रतिस्पर्धा संसदीय चुनावको लामो अनुभव भएका नेकपा (एमाले) का महासचिव शंकर पोखरेलसँग हुँदैछ, जो लुम्बिनी प्रदेशका मुख्यमन्त्री भइसकेका नेता हुन् ।   रेखा शर्मासँग आफ्नाे जितकाे आधारबारे कान्तिपुरकाे प्रश्नमा शर्माको जवनफ यस्तो छ ।    १. संविधानको रक्षाको सवालमा हामी ‘हेभिवेट’ हौं । उहाँ(शंकर पोखरेल) संविधानविरुद्ध गएर प्रतिनिधिसभा विघटन गर्ने केपी शर्मा ओलीको कदमको पक्षपोषक हो । अहिलेसम्म पनि त्यसको प्रतिरक्षा गर्दै हिँड्नुभएको छ । अदालतले दुई दुईपटक विघटनलाई असंवैधानिक भनिसक्यो । उहाँहरूले त्यसलाई अस्वीकार गर्दै सर्वोच्च अदालतको खिलापमा कुरा गर्दै हिँड्नुभएको छ । प्रतिनिधिसभा विघटन गर्ने र त्यसलाई असंवैधानिक भन्ने सर्वोच्च अदालतको फैसलाको समेत विरोध गर्ने कुराले उहाँहरूले भोलि पनि विघटन नगर्नुहोला भन्न सकिन्न । त्यसैले संविधानवादको रक्षा गर्ने, सर्वोच्च अदालतको आदेशलाई सम्मान गर्नुपर्छ भन्ने उम्मेदवारका हिसाबले हामी ‘हेभिवेट’ हौं ।

२. हामी गठबन्धनमा छौं । दाङ क्षेत्र नम्बर २ मा गठबन्धनमा आवद्ध भएका दलका कार्यकर्ता र मतदाता संख्याका हिसाबले पनि हामी नै ‘हेभिवेट’हौं ।

३. संविधानसभामा रहँदा उत्पीडित वर्गको हित रक्षा गर्ने कानुन बनाउन भूमिका खेलेको हिसाबले पनि हामी नै ‘हेभिवेट’ हौं ।

४.मुलुकमा गणतन्त्र स्थापना र त्यसको रक्षाका लागि लडेको व्यक्तिको हिसाबले पनि ‘हेभिवेट’ हामी हौं ।

५. उहाँहरूले जनआन्दोलनमा जनतालाई गोली हान्न आदेश दिने शक्तिसँग मिलेर तिनका उम्मेदवारलाई पार्टीको समर्थन र चिन्ह दिएर सहयोग गरिरहनुभएको छ । यसले उहाँहरू अझै पनि मुलुकमा प्रतिगमन ल्याउन दृढ हुनुहुन्छ भन्ने देखाउँछ । त्यसहिसाबले पनि हामी ‘हेभिवेट’ हौं ।

६. सामान्य महिलाले भोगेका उत्पीडन मैले पनि भोगेकी छु । महिला उत्पीडनका समस्यालाई मैले जति उहाँले अनुभूत र प्रतिनिधित्व गर्न सक्नुहुन्न ।महिलाहरूले जे जस्ता उत्पीडन भोगेका छन्, राजनीतिक प्रतिनिधित्वको जुन समस्या छ– त्यो हटाउन कानुनको हस्तक्षेप चाहिन्छ । मैले त्यसमा काम गर्नेछु । सीमान्तकृत/उत्पीडित समुदायको हितमा कानुन बनाउन हिजो पनि भूमिका खेलेकी छु । भोलि पनि खेल्नेछु । लामो लडाइँपछि पैत्रिक सम्पत्तिमा महिलाको पनि समान हकको कानुनी व्यवस्था गरिएको छ । त्यसको कार्यान्वयनमा अहिले पनि थुप्रै समस्याहरू छन् । त्यसका लागि मैले जति भूमिका पुरुष उम्मेदवारको हुँदैन । समानुपातिक समावेशी कानुनी प्रबन्धका कारणले म जस्तो सामान्य परिवारकी महिला राजनीतिमा लागेर सांसद बन्न सम्भव भएको हो । त्यसैले उत्पीडित समुदायका लागि कानुन बनाउने काममा पनि मेरा प्रतिस्पर्धीले मैले जत्तिको भूमिका खेल्न सक्नुहुन्न । त्यस हिसाबबाट पनि ‘हेभिवेट’ हामी नै हौं ।

हो, उहाँ म भन्दा बढी उमेरको हुनुहुन्छ । प्रदेशको मुख्यमन्त्री हुनुभयो । यी दुई बाहेक अन्य सबै हिसाबले हामी नै ‘हेभिवेट’ हौं । -सम्पादित अंश