सावधान ! दशैंमा यसकारण फैलन सक्छ देशभर डेंगी
दसैंताका काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरिने भएकाले डेंगीको प्रकोप देशव्यापी बन्ने जोखिम रहेको विज्ञहरूले चेतावनी दिएका छन् । अहिले कुल संक्रमितमध्ये ६१ दशमलव ७३ प्रतिशत उपत्यकामा छन् । दसैंका बेला १० लाखभन्दा बढी मानिस उपत्यकाबाट बाहिरिन्छन् ।
आइतबारसम्म देशभरमा २४ हजार ४ सय ९२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ जसमध्ये १५ हजार १ सय २१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौं जिल्लामा हालसम्म ८ हजार १ सय ३६ डेंगी देखिएको छ, जसमध्ये संक्रमणको ९०.६० प्रतिशत अर्थात् ७ हजार ३ सय ७२ केस पछिल्ला २४ दिनमा देखिएको हो । यस्तै ललितपुरमा हालसम्म देखिएको ५ हजार ९ सय ३५ संक्रमणमध्ये ७२.०६ प्रतिशत अर्थात् ४ हजार २ सय ७७ संक्रमण पछिल्ला २४ दिनको हो । भक्तपुरमा हालसम्म पुष्टि भएकामध्ये ९१.२३ प्रतिशत अर्थात् ९ सय ५८ संक्रमण पछिल्ला २४ दिनको हो ।
दसैंमा एकैपटक ठूलो संख्यामा मानिस बाहिरिँदा उपत्यकामा संक्रमणमा कमी आउने भए पनि डेंगी सार्ने लामखुट्टेको जनघनत्व बढी भएको ठाउँमा संक्रमण बढ्न सक्ने जोखिम रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुर बताउँछन् । उनले यस्तो जोखिमलाई ध्यानमा राख्दै संघीय मामिला मन्त्रालयमार्फत सबै पालिकामा डेंगी नियन्त्रण अभियान चलाउन भनिएको बताए । ‘दसैंमा व्यापक रूपमा उपत्यकाको जनसंख्या बाहिरिने यथार्थलाई दृष्टिगत गर्दै स्थानीय तहमा सर्च एन्ड डिस्ट्रोय अभियान सञ्चालन गर्न भनिएको छ,’ डा ठाकुरले भने ।
विज्ञहरू डेंगीको विस्तार अझ पाँच साता जान सक्ने भएकाले हरेक घर र बाहिर लामखुट्टेको फुल, लार्भा र प्युपालाई ‘सर्च एनड डिस्ट्र्रोय’ (खोजी र नष्ट) गर्नुको विकल्प नरहेको बताउँछन् । केही वर्षयता अक्टोबर (असोज–कात्तिक) महिनाभरि डेंगी संक्रमण बढ्ने गरेको पाइएको ईडीसीडीका निर्देशक डा.चुमनलाल दासले बताए । ‘प्रत्येक घरमा हरेक साता लामखुट्टेको बासस्थान राम्ररी खोजेर नष्ट गरिए मात्र यो संक्रमण नियन्त्रण हुन्छ,’ उनले भने, ‘एउटा वयस्क लामखुट्टेले आठ सय वटासम्म फुल पार्ने र फुल, प्युपा र लार्भा सफा पानीमा रहने भएकाले संक्रमित लामखुट्टेको टोकाइबाट बच्न फुल, प्युपा, लार्भा खोजेर नष्ट गर्नुपर्छ । संक्रमित लामखुट्टेले पारेको फुल नष्ट हुनबाट जोगियो भने यो ८–९ महिनासम्म पानीको सम्पर्कमा आउँदा डेंगु सार्ने लामखुट्टेमा परिणत हुन सक्छ ।’
विज्ञहरू लामखुट्टेको प्रजनन स्थल नष्ट नगरिए अर्को वर्षसमेत डेंगी संक्रमण थप भयावह बन्न सक्ने चेतावनी दिन्छन् । ‘काठमाडौं उपत्यकामा सरकारी उदासीनताले प्रभावकारी रूपमा नियन्त्रण गरिएको छैन । यसले डेंगी संक्रमणको स्थानीयकरण (इन्डिमिक) हुनेछ,’ ईडीसीडीका पूर्वनिर्देशक डा. जीडी ठाकुरले भने, ‘सिंगापुर, दिल्ली जस्तै अब काठमाडौं उपत्यकामा बर्सेनि डेंगु प्रकोप देखिनसक्ने कुरालाई अस्वीकार गर्न सकिन्न । उनी दसैंमा काठमाडौंबाट घर जानेहरूलाई डेंगीसँग मिल्दोजुल्दो लक्षण देखिए झुलभित्र सुत्न, लामखुट्टेको टोकाइबाट बच्न र डेंगी परीक्षण गराउन सल्लाह दिन्छन् । याे समाचार कान्तिपुरमा छ ।