विद्यार्थी अभावमा क्याम्पसहरू बन्द हुने अवस्थामा
एक जमाना थियाे सरकारी क्याम्पसमा विद्यार्थी धेरै भएर `भर्ना लिन असमर्थ छाैं´ भन्ने सुचना क्याम्पस गेटमा टाँसिएको हुन्थ्याे । तर विस्तारै क्याम्पसकाे गेट र भित्तामा यस्ता सुचनाकाे बदला पत्रिकामा विद्यार्थी अभावले क्याम्पस सञ्चालनमा समस्यामा खबर आउन थालेका छन् ।
उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थी घट्दै गएपछि देशभरका ५ सय ५ वटा क्याम्पस बन्द हुने अवस्थामा पुगेका छन् । विश्वविद्यालय अनुदान आयोगको हालै सार्वजनिक प्रतिवेदन अनुसार ती क्याम्पसमा एक सय विद्यार्थी पनि छैनन् । राजनीतिक दबाब र पहुँचका भरमा मनपरी सम्बन्धन बाडिँदा यस्तो स्थिति आएको जानकारहरुको भनाइ छ ।
स्वयं त्रिभुवन विश्व विद्यालयकाे केन्द्रीय क्याम्पस कीर्तिपुरमा समेत विद्यार्थी अभावले संकायमा पढाइ प्रभावित हुने गरेकाे छ । स्नातकोत्तर, एमफिल, पिएचडीमा विद्यार्थी अत्यन्तै न्यून हुन थालेका छन् ।
तीन दशकअघिसम्म विद्यार्थीको चाप थेगिनसक्नु हुने भक्तपुर सानोठिमीको आदर्श बहुमुखी क्याम्पस अहिले विद्यार्थी खोज्नुपर्ने अवस्थामा छ, जहाँ अहिले ४७ जनामात्र विद्यार्थी छन् । त्यसैगरी ललितपुरको आदर्श कन्या क्याम्पसमा ४१, नुवाकोटको अमरज्योति क्याम्पसमा ५४, पर्वतको अन्नपूर्ण सामुदायिक क्याम्पसमा १५ तथा सुनसरीको विजयपुर कलेजमा १३ विद्यार्थी छन् ।
उच्च शिक्षा अध्ययनका लागि धेरै विद्यार्थी विदेशिँदाको प्रत्यक्ष मार क्याम्पसहरुमा परेको छ । मुलुकका विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी २२ वटा विश्वविद्यालयमा १४ सय २३ उच्चशिक्षा प्रदायक शिक्षण संस्थामध्ये ५ सय ५ वटा क्याम्पसहरुमा एक सय पनि विद्यार्थी छैनन् ।
विद्यार्थी न्यून भइ बन्द हुने अवस्थामा पुगेका अधिकांश क्याम्पस त्रिवि अन्तगर्तका छन् । विश्वविद्यालयहरुको नियामक निकाय विश्वविद्यालय अनुदान आयोगको हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार १९ वटा आंगिक, १ सय ७८ वटा सामुदायिक र ३ सय ८ वटा निजी क्याम्पस बन्दको संघारमा पुगेका छन् ।
तर निजी लगानीमा सञ्चालित काठमाडौं विश्वविद्यालय र अन्तरगतका क्याम्पसमा भने विद्यार्थीकाे चाप अझै बढिरहेको देखिन्छ । सरकारी क्याम्पसमा विद्यार्थी नहुने र नीजिमा आकर्षण देखिने अवस्था अन्त्य हुन त्रिभुवन विश्वविद्यालयले परीक्षा र नतिजा प्रणालीमा परिवर्तन गर्नुपर्ने विज्ञहरू बताउँछन् ।