ओलीको अध्यादेशकै निरन्तरताको नागरिकता विधेयकमा एमालेको विरोध ? हेरौं के छ फरक ?
अहिले नेपालको नागरिकता विधयेक प्रतिनिधिसभाबाट पारित गरेर राष्ट्रिय सभामा पठाएपछि प्रमूख प्रतिपक्षी दलले यसको विरोध गरिरहेको छ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेला संसदको विघटन गरेर अध्यादेशमार्फत ल्याउन लागेको नागरिकता विधयक र अहिले पारित भएको नागरिकता विधयेक हुबहु रहेको देखिएको छ ।
संसदमा एमाले सांसदहरुले गरेको विरोध वा एमाले नेताहरुले सार्वजनीक रुपमा गरेको विरोधमा राजनीीतक पुर्वाग्रह बाहेक केही नभएको विश्लेषकहरुले बताएका छन् । उनीहरु भन्छन् – ‘की पहिले आफूले अध्यादेशमार्फत ल्याएको नागरिकतासम्वन्धीको व्यवस्था नै गलत थियो भन्नुपर्यो नभए अहिलेको उही व्यवस्थाको विधेयक आउँदा किन विरोध गर्नु ? यो त राजनैतिक पुर्वाग्रह र दिवालिययापन हो ।’
राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेको नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालको अंगीकृत नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर ७ वर्षसम्म स्थायी बसोबास गरेको रहेछ भने निजले नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछ भन्ने प्रावधान बहुमतले पारित गरेको थियो ।
तर तत्कालीन ओली सरकारले ल्याएको अध्यादेशमा पनि यो विषय समावेश गरिएको थिएन । हाल सरकारले संसदमा पेस गरेर पारित भएको विधेयकमा पनि यो प्रावधानलाई छोडिएको छ । २०६३ सालको मूल ऐनमा यो विषय संशोधन हुन नसक्दा नेपालीसँग बिहे गरेकी आएकी महिलाले आफ्नो देशको नागरिकता त्याग गरेको स्वघोषणा गरेपछि जुनसुकै बेला नेपाली नागरिकता प्राप्त गर्न सक्नेछन् ।
हेरौं तत्कालिन ओली नेतृत्वमा जारी गरिएको नागरिकता अध्यादेश र अहिले देउवा नेतृत्वमा सरकारले ल्याएको नागरिकता विधयकमा के समानता र के फरक छ ?
तत्कालीन प्रधानमन्त्री ओलीेले जारी गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको अध्यादेशमा :
–मूल ऐनमा भनिएको दफा ३ को १ उपदफा ३ मा रहेका नेपाल सरहदभित्र भन्ने शब्दहरूको सट्टा ‘नेपालभित्र’ भन्ने शब्द राखी सोही उपदफामा रहेका पितृत्व मातृत्वको भन्ने शब्दहरूको सट्टा पितृत्व र मातृत्वको भन्ने शब्दहरू राखिएको ।
–२०७२ साल असोज ३ गते भन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था ।
–नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था ।
–आमाको नाममा नागरिकता लिएका कुनै व्यक्तिको बाबु विदेशी रहेको ठहरेमा त्यस्तो व्यक्तिले वंशजको आधारमा लिएको नागरिकता कायम नरहने, निजले बाबुको नागरिकताको आधारमा विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको भनी तोकिएबमोजिम स्वघोषणा गरेमा निजको नागरिकतालाई अङ्गीकृत नागरिकतामा परिणत गरिने व्यवस्था ।
–नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको व्यहोराको निज र निजको आमाले तोकिए बमोजिमको स्वघोषणा गरेमा नागरिकता दिने व्यवस्था ।
–निवेदन दिँदाका बखत त्यस्तो व्यक्तिको आमाको मृत्यु भइसकेको वा होस ठेगानमा नरहेको अवस्थामा सोको प्रमाणसहित निवेदकले गरेको स्वघोषणा संलग्न गरेमा नागरिकता पाउने व्यवस्था ।
–यसरी स्वघोषणा गरी नागरिकता लिएको झुटो ठहरेमा त्यस्तो झुटो स्वघोषणा गर्ने व्यक्तिलाई ६ महिनादेखि एक वर्षसम्म कैद वा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था । झुट्टो स्वघोषणा गरी नागरिकता प्राप्त गरे बापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुने व्यवस्था ।
हालै प्रतिनिधिसभाले पारित गरेको नेपाल नागरिकता विधेयकमा रहेका व्यवस्थाहरु :
–नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मानिने ब्यवस्था ।
–२०७२ साल असोज ३ गते भन्दाअघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था ।
तर राज्यव्यवस्था तथा सुशासन समितिले पारित गरेको विधेयकमा २०६५ साल मंसिर ९ गतेभित्र निवेदन दिई नेपालको संविधान प्रावधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको थियो ।
–नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था ।
–विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने नेपालमा जन्मिएको त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था । तर नागरिकता पाएको कुनै व्यक्तिको बाबु विदेशी रहेको ठहरेमा त्यस्तो व्यक्तिले वंशजको आधारमा लिएको नागरिकता कायम नरहने, विदेशी नागरिकता नलिएको स्वघोषणा गरेमा अङ्गीकृत नागरिकता प्राप्त गर्ने व्यवस्था ।
–गैर आवासीय नेपालीले राजनीतिक अधिकार बाहेकको नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था । बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था ।
राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेको विधेयकमा मूल ऐनको दफा ५ मा उपदफा ५, ६ र ७ थप्नेगरी गैर आवासीय नेपालीलाई नागरिकलाई राजनीतिक अधिकार बाहेकको अरु अधिकार दिने गरी नागरिकता दिने प्रावधान राखिएको थियो ।
–नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको आमाले गरेको तोकिए बमोजिमको स्वघोषणा र त्यस्तो व्यक्तिको आमाको मृत्यु भइसकेको वा होस ठेगानमा नरहेको अवस्थामा सोको प्रमाणसहित निवेदकले गरेको स्वघोषणाका आधारमा वंशजको नागरिकता दिने व्यवस्था ।
तर नागरिकताको प्रमाणपत्र लिन निवेदन दिँदा बाबु र आमा दुवैको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नु पर्ने व्यवस्था ।
–स्वघोषणा झुटो ठहरे ६ महिनादेखि एक वर्षसम्म कैद वा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय र नागरिकता स्वतः रद्द गर्ने व्यवस्था ।