आईसीसी विश्वकप लिग–२ : नेपाल र अमेरिका बराबरीमा

मूलखबर संवाददाता
काठमाडौं, २९ जेठ

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल रोमाञ्चक बराबरीमा सकिएको छ । अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा आइतबार बिहान सम्पन्न त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले अमेरिकासँग बराबरी खेलेको हो ।

नेपालले दिएको २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ७४ रन बनायो । अमेरिकाका लागि स्टेभेन टेलरले १ सय १४ रनको सतकीय इनिङ्स खेल्नुभयो । कप्तान मोनान्क पटेलले ८५, आरोन जोन्सले २६, सुशान्त मोदानीले १७ र राहुल जरिवालाले १० रन जोड्नुभएको थियो ।

बलिङमा नेपालका आदिल आलमले दुई विकेट लिनुभयो । अमेरिकालाई जितको लागि अन्तिम ६ बलमा ६ रन चाहिँदा आदिलले पाँच रन खर्चिदै खेललाई रोमाञ्चक बराबरीमा सक्नुभएको थियो । कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९।२ ओभरमा सबै विकेटको क्षतिमा २ सय ७४ रन बनाएको थियो । नेपालका लागि उपकप्तान रोहित पौडेल, आसिफ शेख र देव खनालले अर्धसतकीय इनिङ्स खेल्नुभयो । रोहितले ६२, आसिफले ६१ र देवले ५४ रन जोड्नुभयो ।