गठबन्धनबाहिर नजान कांग्रेस सभापतिको निर्देशन
नेपाली कांग्रेस चितवनले गठबन्धनको सहमति अनुसार केन्द्रीय परिपत्रभन्दा बाहिर गएर कसैले पनि कुनै काम नगर्न निर्देशन दिएको छ ।
जिल्ला सभापति राजेश्वर खनालले आज शुक्रवार एक विज्ञप्ति निकालेर केन्द्रीय परिपत्रभन्दा बाहिर गएर भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रको प्रमुख पदमा उम्मेदवार रहने गरी गठबन्धनको केन्द्रीय संयन्त्रले निर्णय गरेपछि केही कार्यकर्ताले त्यसलाई नमान्ने भनि गरेका प्रतिक्रियामाथि सभापति खनालले उक्त निर्देशन दिनुभएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘यस प्रक्रियालाई नकारात्मक प्रभाव पर्ने गरी केन्द्रीय परिपत्रभन्दा बाहिर गएर भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै नेता तथा कार्यकर्तासँग विनम्रताका साथ आग्रह गर्दछु ।’
‘आसन्न पालिका चुनावमा सबै पार्टी होमिएको अवस्था र कांग्रेसले गठबन्धनलाई आत्मसात् गरी अगाडि बढ्ने कुरालाई ध्यानाकर्षण गर्दै केन्द्रीय परिपत्रअनुसार गठबन्धनलाई पूर्णपालना गरी अगाडि बढ्ने कुराको समेत जानकारी गराउन चाहन्छु’, विज्ञप्तिमा भनिएको छ ।