माओवादी केन्द्रकाे चुनावी तयारी : २८ कमान्ड, वाइसिएल परिचालन
सत्तारूढ दल नेकपा माओवादी केन्द्रले २८ वटा कमान्ड बनाएर स्थानीय निर्वाचनको तयारीमा लागेकाे छ ।
पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले विभिन्न प्रदेश अन्तरगतका बढिमा ४ जिल्ला समेटिएको कमान्ड निर्माण गरी कमान्डर समेत चयन गर्न प्रदेशलाई जिम्मेवारी दिएको छ ।
जस अनुसार प्रदेश १ र बागमती प्रदेशमा ५/५ वटा, मधेश, गण्डकी र लुम्बिनीमा ४/४ वटा, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ३/३ वटा कमान्ड बनाइएको पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए । उनलेे जिल्ला र प्रदेशको विशेषता हेरेर कमान्ड बनाइएको बताए।
यी सबै कमान्डको नेतृत्व प्रदेश तहबाट हुनेछ। मत सर्वेक्षण, जनताको घरघरमा जाने, संगठन विस्तार, सभा र प्रशिक्षणको तय तिनै कमान्डअन्तर्गत हुने उनले बताए।
अहिले अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ लगायत नेताहरु प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा व्यस्त छन्।
प्रदेश १ मा ५ वटा कमान्ड
प्रदेश १ मा रहेका १४ जिल्लालाई पाँच खण्डमा विभाजन गरेर कमान्ड बनाइएको छ। सोलुखुम्बु र ओखलढुङ्गाबाहेक अन्य कमान्डमा ३ जिल्ला समेटिएको छ।
१. ताप्लेजुङ, पाँचथर, इलाम
२. झापा, मोरङ, सुनसरी
३. धनकुटा, तेह्रथुम, संखुवासभा
४. भोजपुर, खोटाङ, उदयपुर
५. सोलखुम्बु, ओखलढुंगा
मधेश प्रदेशमा ४ कमान्ड
माओवादी केन्द्रको राम्रै प्रभाव रहेको मधेस प्रदेशमा रहेका ८ जिल्लालाई ४ कमान्डमा विभाजन गरिएको छ।
१. सप्तरी, सिरहा
२. धनुषा, महोत्तरी
३. सर्लाही, रौतहट
४. बारा, पर्सा
बागमती प्रदेशमा ५ कमान्ड
काठमाडौं उपत्यकासहित १३ जिल्ला रहेको बागमती प्रदेशमा माओवादीले चुनावी प्रचार रणनीति बदल्ने भएको छ। अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र रहेको चितवनदेखि काठमाडौँ उपत्यकामा समेत बलियो उपस्थिति देखाउने सो पार्टीको योजना छ। त्यसैले यहाँ ७ वटा कमान्ड बनेका छन्।
१. काठमाडौँ, ललितपुर, भक्तपुर
२. चितवन, मकवानपुर
३. धादिङ, नुवाकोट, रसुवा
४. सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक
५. सिन्धुली, रामेछाप
गण्डकीमा ४ कमान्ड
गोरखा, लमजुङबाहेक गण्डकी प्रदेशमा माओवादी केन्द्र निकै कमजोर अवस्थामा छ। ११ जिल्ला रहेको गण्डकीमा ४ वटा कमान्ड बनाइएको छ।
१. गोरखा, लमजुङ, मनाङ
२. तनहुँ, नवलपरासी पूर्व
३. स्याङजा, कास्की, पर्वत
४. बाग्लुङ, म्याग्दी, मुस्ताङ
लुम्बिनीमा ४ कमान्ड
माओवादी लुम्बिनी प्रदेशमा बलियो अवस्थामा छ। रोल्पा, दाङ, रुकुम पूर्वजस्ता माओवादीको जनाधार भएका जिल्ला यस प्रदेशमा पर्छन्। प्रदेशको मुख्यमन्त्री पनि माओवादी केन्द्रकै छन्। १२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा ४ कमान्ड बनाएको छ।
१. नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु
२. पाल्पा, गुल्मी, अर्घाखाँची
३. प्युठान, रुकुम पूर्व, रोल्पा
४. दाङ, बाँके, बर्दिया
कर्णालीमा ३ कमान्ड
माओवादी केन्द्रबाट संघीय संसद् र स्थानीय तहमा सबैभन्दा बढी प्रतिनिधि भएको प्रदेश हो कर्णाली। अर्थमन्त्री समेत रहेका नेता जनार्दन शर्मा कर्णालीकै हुन्।
१. सुर्खेत, दैलेख, सल्यान
२. जाजरकोट, डोल्पा, रुकुम पश्चिम
३. कालिकोट, जुम्ला, मुगु, हुम्ला
सुदूरपश्चिममा ३ कमान्ड
सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका मुख्यमन्त्री छन्। ९ जिल्ला भएको यो प्रदेशमा ३ कमान्ड बनाइएको छ।
१. अछाम, डोटी, बाजुरा
२. बैतडी, बझाङ र दार्चुला
३. कैलाली, कञ्चनपुर, डडेलधुरा
माओवादी केन्द्रले बागमती, कर्णाली, सुदूरपश्चिम र प्रदेश १ को प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ। बिहीबार लुम्बनी प्रदेश, चैत ६ गते गण्डकी र चैत ८ गते मधेश प्रदेशमा प्रशिक्षण कार्यक्रम तय भएको कार्यालय मुख्य सचिव ढकालले बताए।