एमाले लमजुङको अध्यक्षमा कृष्ण अधिकारी निर्वाचित

मूलखबर संवाददाता
लमजुङ

नेकपा एमाले लमजुङको अध्यक्षमा कृष्ण अधिकारी निर्विरोध चयन भएका छन् । सुन्दरबजारमा सम्पन्न जिल्ला अधिवेशनमा पुर्व सचिव अधिकारी अध्यक्षमा चयन भएका हुन् ।

बेंसीसहर नगरपालिका १, उदिपुरका अधिकारीलाई जिल्ला अधिवेशन सम्पन्न गराउन पुस २ गते जिल्ला संगठन समितिको अध्यक्ष बनाइएको थियो ।

कुल ९५ सदस्यीय कमिटीको लागि १ सय ३० जनाको उम्मेदवारी परेकोमा अध्यक्षमा उनको मात्रै उम्मेदवारी परेको थियो । निर्वाचन कमिटीले अध्यक्षमा निर्वाचित भएको घोषणा बाँकी भए पनि उनको विरुद्धमा कसैले उम्मेदवारी नदिएको र दाबी विरोध पनि नपरेको निर्वाचन कमिटी संयोजक बुद्धिसागर बरालले बताए । अन्य पदाधिकारी र सदस्यमा सर्वसम्मतको प्रयास भइरहेको छ ।

एमाले र माओवादी केन्द्रलाई अदालतले छुट्याएपछि यसअघि एमाले सचिव रहेका अधिकारी पुनः सचिव बनेका थिए । अध्यक्ष धनञ्जय दवाडी गण्डकी प्रदेश कमिटी सचिवमा चयन भएको र उपाध्यक्ष गुमानसिंह अर्याल प्रदेश कमिटीमा समेटिएपछि अधिकारीले अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाएका थिए ।