माओवादीले वडादेखि केन्द्रसम्मै निर्वाचनबाट नेतृत्व चयन गर्ने

मूलखबर संवाददाता
काठमाण्डौं, ५ असोज–

नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहको नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ ।
माओवादीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि बनाएको हो ।

माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । तल्ला कमिटीहरुका सम्मेलन राष्ट्रिय सम्मेलनअघि नै सकिएर नेतृत्व चयन हुनेछ । माओवादी केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले वडादेखि केन्द्रसम्म दुई लाख ८५ हजार पदहरुमा निर्वाचनमार्फत नेतृत्व चयन हुने जानकारी दिए । निर्वाचन कार्यविधिमा पार्टी अध्यक्ष र पदाधिकारीको चयन पनि निर्वाचनबाटै गर्ने उल्लेख छ ।
अध्यक्ष प्रचण्ड र नेता पुनले सोमबार आयोजित केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमूखीकरण बैठकमार्फत सबै तहको नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन हुने भन्दै त्यसैअनुसार तयारीमा जुट्न मातहत कमिटीलाई निर्देशन दिए ।

बैठकमा केन्द्रीय निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठले निर्वाचन नियमावली, कार्यविधि र आचारसंहिताबारे प्रशिक्षण दिएका थिए । बैठकमा १ सय ८० केन्द्रीय सदस्य, ७ भौगोलिक र ३ गैरभौगोलिक गरी १० प्रदेशका प्रेदश निर्वाचन समितिका पाँच÷पाँच जना सहभागी रहेको नेता पुनले जानकारी दिए । प्रदेश निर्वाचन आयोगले छिट्टै नगर तथा गाउँ र वडा निर्वाचन समिति गठन गरी निर्वाचन केन्द्रित काम अघि बढाउने उनले बताए ।

माओवादी देशकै ठूलो पार्टी बन्छः प्रचण्ड

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विधि र पद्धतिसम्मत रुपमा पार्टी सञ्चालन गरिने बताए । अबदेखि पार्टीका सबै कमिटीका सदस्यदेखि पदाधिकारीसम्म निर्वाचनमार्फत चुनिने भन्दै उनले निर्वाचन आयोगको जानकारी र उपस्थितिबिना कुनै पनि कमिटीको निर्वाचन वा सम्मेलन नहुने स्पष्ट गरे । ‘विधिसम्मत निर्वाचन सम्पन्न भएर आयोगले प्रमाणपत्र दिएर प्रमाणित नभएसम्म त्यसले आधिकारिकता पाउँने छैन’, उनले भने ।
प्रचण्डले माओवादी केन्द्रलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउने घोषणा गरे । ‘विचार आधारित विधि पद्धति आधारित र सबै तहमा निर्वाचित प्रतिनिधि रहेको देशकै सबैभन्द्यदा ठूलो पार्टी माओवादी केन्द्र बन्नेछ’, उनले भने । प्रचण्डले आकारमा सानो भए पनि एजेण्डाका आधारमा माओवादी अहिले पनि देशको सबैभन्दा ठूलो दल रहेको दाबी गरे । केपी ओलीको प्रतिगमनविरुद्ध संघर्षको नेतृत्व माओवादीले गरेको उनले बताए । ‘संविधानसभा, गणतन्त्र, संघीयताजस्ता परिवर्तनका सबै एजेण्डा हाम्रै हुन् भन्नेमा कोही कसैलाई भ्रम छैन’, उनले भने, ‘केपी ओलीले प्रतिगमानमार्फत त्यसलाई खोस्ने षड्यन्त्र गरेपछि हाम्रै अगुवाइमा देशभर आन्दोलन भयो, उपलब्धीहरुको रक्षा गर्न सकिएको छ । यसबारे आमनेपाली जनता जानकार छ ।’

गुटबन्दी नगरौं, प्रचण्ड वरिपरि गोलबन्द होऔंः  पुन

कार्यक्रममा नेता पुनले व्यक्तिगत महत्वकांक्षा र स्वार्थका लागि पार्टीभित्र गुटबन्दी नगर्न आग्रह गरे ।
पुनले प्रचण्डको वरिपरि गोलबन्द भएर क्रान्तिकारी पार्टी निर्माणमा जुट्न नेता कार्यकर्तालाई अपिल गरे । ‘व्यक्तिगत स्वार्थ र महत्वाकांक्षाका लागि गुटबन्दी गर्ने प्रवृत्ति क्रान्तिकारी प्रवृत्ति होइन’, उनले भने, ‘विचार र पार्टी बलियो बनाउने काममा लाग्नुपर्छ, हामी सबै अध्यक्ष प्रचण्डको परिपरि गषेलबद्ध भए मात्र पार्टी बलियो हुन्छ । बलियो पार्टीले मात्र जनताको सेवा गर्न सक्छ ।’ क्रान्तिकारी विचारयुक्त विधि र प्रक्रियामार्फत आन्तरिक संरचना सुदृढ पारेर शहीद तथा बेपत्ता परिवार र विपन्न वर्गको सेवामा समर्पित कम्युनिष्ट पार्टी निर्माणमा लाग्न आग्रह गरे । ‘पार्टीलाई विभिन्न गुट र स्वार्थ समूहबाट अलग गरेर विचारले एक, राजनीतिले एक, संगठनले एक क्रान्तिकारी जोश र जाँगरले एकताबाद्ध बनाउन जरुरी छ’, पुनले भने । उनले नेतृत्व चयनका लागि हुने निर्वाचन प्रक्रियामा सहयोग गर्न सबै कमिटीलाई केन्द्रीय कार्यालयका तर्फबाट निर्देशन दिए ।