संवादमार्फत विवाद समाधान गर्ने सभामुखकाे पहल: बाेलाए सर्वदलीय बैठक

मूलखबर संवाददाता
काठमाडौं, २८ भदौ

सभामुख अग्नि प्रसाद सापकोटाले संसदमा देखिएको विवाद संवाद मार्फत समाधान गर्न पहल गरेका छन् ।

प्ररमुख प्रतिपक्षी दल नेकपा एमालेले दैनिक संसद अवराेध गरिरहेपछि सभामुख सापकोटाले संवादकाे थालनि गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले संसद् अवरोध अन्त्य गर्ने विषयमा शीर्ष नेतालाई सोमबार छलफलमा बोलाएका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद् अवरोध गरेपछि सभामुख सापकोटाले सोमबार दिउँसो साढे २ बजे संसद्मा भएका प्रमुख दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

आफूले गरेको १४ सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा नेकपा एमालेले लगातार संसद् अवरोध गर्दै आएको छ । सभामुख सापकोटाले आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र नेकपा एमालेका सांसदहरूसँग छलफल गरेका थिए ।

छलफलका क्रममा एमालेले सभामुखबाट विश्वासको वातावरण नबनाएसम्म संसद् अवरोध कायमै राख्ने अडान लिएका थिए । ‘हामीमा गरिएको अन्यायबारे प्रस्ट नपारेसम्म संसद् चल्न दिन्नौं,’ एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने । एमाले विभाजनमा भूमिका सभामुख सापकोटाले खेलेको एमाले नेताहरूले आरोप लगाए ।

प्रमुख सचेतक भट्टराई, सचेतक शान्ता चौधरी, नेता खगराज अधिकारी सभामुख सापकोटासँगको छलफलमा बसेका थिए । ‘सभामुखले पार्टी फुटाउने मतियारको भूमिका खेलेको कुरा प्रस्ट भन्यौं,’ भट्टराईले भने । सभामुख सापकोटाले विश्वासको वातावरण बनाउने बताएका थिए । तर, कानुनमन्त्री कार्कीले उच्च राजनीतिक तहमा नै यसबारे छलफल गरिनुपर्ने प्रस्ताव गरेका थिए । यसपछि सभामुख सापकोटाले उच्च तहमा संवाद अगाडि बढाउने बताए ।

प्रमुख प्रतिक्षी दल नेकपा एमालेले आइतबार पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गरे । तर, पछिल्ला केही दिनको तुलनामा प्रतिनिधिसभाको आइतबारको बैठकको दृश्यमा केही फरक देखियो । यसले संवादको वातावरण बन्दै गएको संकेत मिलेको छ ।

अघिल्ला दिनमा मर्यादापालक र सांसदहरूबीच घम्साघम्सी देखिएको थियो । प्रतिस्थापन बजेट पेस गर्ने क्रममा एमाले सांसदहरूले काँधमा चढेर रोस्टम पुग्ने प्रयास गरेका थिए । मर्यादापालकहरूले पनि एमाले सांसदहरूलाई वेलको आधा भागमा रोकेका थिए । तर, आइतबारको बैठकमा एमाले सांसदहरूले वेल घेराउ गर्दै नारा लगाए पनि कुनै घम्साघम्सी भएन । प्रतिनिधि सभाको बैठक अघि एमाले दलका नेता केपी शर्मा ओलीले मर्यादित भएर प्रस्तुत हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएका थिए ।

अघिल्लो बैठकमा मर्यादापालकहरूले सभामुख बस्ने स्थानअघिको खाली ठाउँको आधा भागमा मात्र प्रतिपक्षीलाई रोकेका थिए । तर, आइतबार उनीहरूले पुरै वेल खुला छाडेका थिए । बैठकमा सभामुख अग्नि सापकोटाले संवादतर्फ अग्रसर हुन सांसदहरूलाई आग्रह गरिरहे । ‘आखिरमा हामीले सहकार्य र समन्वयमा जानैपर्छ । संवादतिर जान सत्तापक्ष र प्रतिपक्षले पहल गर्नुपर्छ । म विनम्रतापूर्वक आग्रह गर्दछु । वातावरण सहज बनाउने भूमिका खेलौं,’ सापकोटाले भने, ‘बैठक सहज ढंगले सञ्चालन गर्ने वातावरण बनाउन विपक्षी दलका सांसदहरूलाई अनुरोध गर्छु । सत्तापक्ष, विपक्ष र संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरू जनताको सर्वोच्च प्रतिनिधि संस्थालाई मर्यादित बनाउन संवादतिर अग्रसर होऔं ।’

आइतबारको बैठकमा पनि नेकपा एमालेका सांसदहरूले नाराबाजी जारी राखेका थिए । उनीहरूले पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद, संसदीय मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार मुर्दावादजस्ता नारा लगाएका थिए । सभामुख अग्नि सापकोटाले नियमित अवरोधले अन्य सांसदहरूले आफ्नो कुरा राख्न नपाएको उल्लेख गरे । उनले अदालतमा विचाराधीन विषयमा छलफल संविधानमा निषेध गरेको सम्झाए । तर, एमाले सांसदहरूले नाराबाजी कायम राखे । एमाले सांसदहरूले माधव नेपालसहित १४ सांसदलाई कारबाहीको सूचना सभामखुले प्रकाशित नगरेकोमा प्रश्न उठाउँदै आएका छन् । उनीहरूले गैरसांसदलाई प्रवेश निषेध गर भन्दै नारा लगाएका थिए ।