काठमाडौं उपत्यकामा असोज १ गतेबाट विद्यालयहरु खुल्ने

मूलखबर संवाददाता
काठमाडौं, २२ भदौ ।

काठमाडौं उपत्यकामा असोज १ गतेबाट स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला भित्रका स्थानीय तहका प्रतिनिधिहरूबीच विद्यालय सञ्चालनको विषयमा आज भएको छलफबाट सो निर्णय भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौमा भएको छलफलले असोज १ गतेबाट स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न सक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।

स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्दा नगरशिक्षा समितिको बैठक बसेर स्वास्थ्य मापदण्डको पूर्ण पालना हुनेगरी विद्यालय सञ्चालन गर्ने प्रतिबद्धता जनाएको पराजुलीले बताउनुभयो ।
छलफलमा जिल्लाभित्रका ४० प्रतिशत विद्यार्थीहरु मात्र अनलाइनको पहुँचमा रहेको देखिएकाले पनि विद्यालय सञ्चालनको प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ ।