आइतबारको वर्षाले काठमाडौंमै डुबान, बागमतीमा बाढीले खतराको तह पार गर्यो
आइतबार रातीदेखि परेको भारी वर्षाका कारण काठमाडौं उपत्यकाका काठमाडौं र भक्तपुरका विभिन्न क्षेत्रहरु डुवानमा परेका छन् । काठमाडौंको अनामनगर क्षेत्र, कपन क्षेत्र, बालाजु, नेपालटार क्षेत्र, कालीमाटी टेके क्षेत्र, थापाथली र बागमती नदी किनारका बस्तीहरु डुबानमा परेका हुन् ।
बागमती नदीको खोकना क्षेत्रमा बाढीको सतह चार मिटर नाघेको छ । बाढीको खतराको तह पार गरेको भन्दै जल तथा मौसमविज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।
बाढी पूर्वनुमान महाशाखाको तथ्याङक अनुसार बागमती खोलाको खोकना क्षेत्रमा पानीको सतह चार मिटर पार गरेको छ, यस क्षेत्रमा ३।५ मिटर पानीको सतहलाई सतर्कता तह र चार मिटरभन्दा माथि खतराको सतह मान्ने गरिएको छ । सोमबार बिहान ११ः३० बजे सम्म पनि खोकना क्षेत्रमा पानीको सतह घटेको छैन ।
त्यस्तै गरी निरन्तर पानी परेपछि पश्चिम राप्ती नदीको बाँके क्षेत्र र बागमती नदीको भक्तपुर क्षेत्रमा पानीको सतहले खतराको सतह पार गरेको छ । पश्चिम राप्तीमा १३३ मिलिमिटर र बागमतीमा १२२ मिलिमिटर पानी परेको छ ।