सनाखतपछि अन्तत : माधव नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दलले पायो मान्यता

मूलखबर संवाददाता
काठमाडौं, ९ भदौ ।

अन्तत : माधव नेपाल र महन्थ ठाकुर नेतृत्वका पार्टीहरुले निर्वाचन आयोगबाट दलको रुपमा मान्यता प्राप्त गरेका छन् ।
बुधबार साँझ निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई औपचारिक मान्यता दिएको हो।

दुवै दलले दिएको निवेदनमाथि बुधबार आयोगले दल विभाजनमा जान चाहनेहरूको आयोग कार्यालयमै सनाखत गरेको थियो । त्यसमध्ये एमालेबाट छुट्टिएका संघीय संसदका ३० जना सांसदसहित ५५ जना केन्द्रीय सदस्य रहने गरी दल दर्ता गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

एमालेबाट छुट्टिएर नयाँ दलमा जान चाहेका तीनजना सांसद सोमप्रसाद पाण्डे, शारदादेवि भट्ट र माया न्यौपानेको बारेमा भने आयोगले कुनै निर्णय गरेन । उनीहरू अब वैधानिक रुपमा एमालेकै सांसद हुन्छन् । माधवकुमार नेपाल नेतृत्वमा दल दर्ता प्रक्रिया अघि बढाउँदा उनीहरूको नाम समावेश थिएन । त्यसैले उनीहरूलाई आयोगले सनाखतमा समावेश नै गराएन ।