माधव र महन्थको पार्टी आज दर्ता हुँदै, सनाखतका लागि आयोगमा सदस्यहरु हाजिर

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं, ९ भदौ ।

निर्वाचन आयोगलले आज माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गराउने भएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अरु कुराले रोकिएन भने आज दुवै पार्टीको दर्ता प्रक्रिया टुङ्गो लाग्ने बताउनुभयो । दुवै दलका नेताहरुलाई सनाखतका लागि आज आयोगले बोलाएको छ । सामान्यता सनाखतपछि आयोगले दुवै दललाई दल दर्ताको प्रमाणपत्र दिनेछ ।

आयोगले सनाखतका लागि बुधबार बिहान ११ : ३० बजेदेखि २ बजेसम्मको समय छुट्याएको छ । ‘दल दर्ताको निवेदनमा जुन नेताहरुको नाम छ, उहाँहरु आफैं अयोगमा उपस्थित भएर सनाखत गर्नुपर्छ,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार नयाँ दल विभाजनका लागि सङ्घीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत अलग भएको हुनुपर्छ । माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी दर्ताका लागि ५७ केन्द्रीय सदस्यहरुको नामावली आयोगमा बुझाउनुभएको छ । यसैगरी महन्थ ठाकुरले ३१ जना कार्यकारिणी सदस्यहरुको नामावली निर्वाचन आयोगमा बुझाउनुभएको छ ।