एमाले माधव समुहको बैठकमा सदस्य थपिँदै, विहिबार ७०, शुक्रबार ७७ जना सहभागि

मूलखबर संवाददाता
काठमाडौं, २२ साउन ।

नेकपा एमालेको माधवकुमार नेपाल समूहको केन्द्रीय समिति बैठकमा सहभागी हुने केन्द्रीय समिति सदस्य संख्या बढेको देखिएको छ ।

नेपाल समूहको बैठक क्वालिटी बैंक्वेट बुद्धनगरमा जारी छ । बैठकमा सहभागी एक नेताले बिहीबारको तुलनामा ७ जना केन्द्रीय सदस्य शुक्रबारको बैठकमा थपिएको बताए ।

बैठकस्थलमा राखिएको उपस्थिति माइन्युटमा ७७ जनाको हस्ताक्षर रहेको छ भने स्थायी कमिटी सदस्य समेत रहेका सुरेन्द्र पाण्डे र भीम आचार्य आजको बैठकमा सहभागी भएका छन् । हिजो ७० जनाको सहभागिता रहेको बताइएको थियो ।

हिजो आचार्य स्थायी कमिटी बैठकमा सहभागी भएपनि केन्द्रीय कमिटीमा सहभागी भएका थिएनन् भने पाण्डे कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेको कारण देखाउँदै सहभागी भएका थिएनन् । आजको बैठकमा सहभागी हुने अन्यमा केन्द्रीय सदस्यको भूमिकामा रहेका नेताहरु रहेका छन् । आफ्नो समूहको रणनीति बनाउन माधव पक्षको बैठक बसेको हो ।

बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ । काठमाडौँको बुद्धनगरमा बिहीबारदेखि सुरु भएको बैठकमा पहिलो दिन २३ र दोस्रो दिन ३२ जना गरी जम्मा ५५ जनाले पार्टी एकताबारे धारणा राखेपछि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको हो ।

केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि केही समयका लागि बैठक स्थगित गरिएको छ । केन्द्रीय समिति बैठक स्थगित गरेर माधव समूहको स्थायी समिति बैठक सुरु भएको छ । स्थायी समिति बैठकमा केन्द्रीय सदस्यहरूले राखेको धारणाको कस्तो जवाफ दिने भन्ने छलफल हुनेछ । छलफलपछि नेता माधव कुमार नेपालले एकमुष्ट जवाफ दिने तयारी गरेको बुझिएको छ ।

बैठकमा बोल्ने अधिकांश सदस्यहरूले सम्मानजनक एकता हुनुपर्ने धारणा राखेका थिए । त्यस्तै नेता ठाकुर गैरेका अनुसार अधिकांश धारणा राख्ने नेताहरूले पार्टी सरकारमा जाने नजानेबारे समेत नेतृत्वले प्रस्ट पार्नुपर्ने बताएका छन् ।