बाढी पहिरो र चट्याङले एकै दिन सातको मृत्यु, बस्ती जलमग्न, सडक अवरुद्ध
बाढीपहिरो र चट्याङमा परेर बिहीबार चितवन, सिन्धुली र तनहुँमा सात जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । तनहुँ र गोरखामा आठ जना घाइते भएका छन् । गोरखा, लमजुङ, पूर्वी नवलपरासीलगायत जिल्लामा दर्जनौं परिवार विस्थापित भएका छन् । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ ।
बाढीपहिरोले चितवनमा बिहीबार दुई जनाको ज्यान गएको छ, तीन जना बेपत्ता छन् । त्यसैगरी चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । वर्षाका कारण पूर्वी चितवन बढी प्रभावित भएको छ । राप्ती नगरपालिका–१२ को पहाडी गाउँ लोथरमा बिहीबार पहिरोले दुई घर र एउटा गोठ भत्काएको छ । जिल्ला प्रहरी प्रवक्ता डीएसपी सूर्य थापाका अनुसार लोथरमा दुई घर बगाउँदा चार जना बेपत्ता भएका थिए । तीमध्ये एक पुरुषको शव घटनास्थलभन्दा ५० मिटर तल फेला परे पनि र अरू विवरण नआएको डीएसपी थापाले बताए ।
अर्को पहाडी गाउँ कालिका नगरपालिका–११ सिद्धिको दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङको पनि पहिरोमा परेर मृत्यु भएको छ । आफन्तको घर जाने क्रममा बिहीबार दिउँसो दुई बजेतिर बाटोमाथिबाट आएको पहिरोमा परेका उनको शव एक किलोमिटर तल घैयाबारीमा भेटिएको डीएसपी थापाले बताए । त्यसैगरी बिहीबार बिहान साढे ८ बजेतिर राप्ती नगरपालिका–९ लालपुरमा चट्याङ लागेर ४५ वर्षीया बिजुलीमाया श्रेष्ठको मृत्यु भएको हो । धान रोप्न जाने क्रममा चट्याङ लागेर गम्भीर भएकी उनको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमै निधन भएको प्रहरीले जनाएको छ ।
नारायणगढ–मुग्लिन सडकका ठाउँठाउँमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–६ पाँच किलोमा बुधबार राति सवा दुई बजे पहिरो जाँदा अवरुद्ध भएको सडक मध्याह्न मात्रै एकतर्फी खुलेको थियो । भरतपुर महानगरपालिका–२९ केराबारीमा दिउँसो साढे तीन बजे अर्को पहिरो खस्यो भने साँझ सवा ७ बजेतिर भरतपुर– २९ को १४ किलोमा ठूलो ढुंगा खसेको थियो । सडक साँझबाट एकतर्फी सञ्चालनमा आएको छ ।
बिहीबार साँझ नारायणगढ–मुग्लिन खण्डको चौधकिलोमा सडकबीचमै खसेको ढुंगा । निकै प्रयासपछि यो खण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको छ । ढुंगा फुटाएर नहटाई दुईतर्फी आवागमन खुल्न सक्ने छैन ।
कयर खोला, लदरी खोला, पम्पा खोलालगायतमा ठूलो बाढी आएको स्थानीयले बताएका छन् । बूढीराप्तीमा ठूलो भेल आएको छ । ‘जति आयो यिनै ठाडा खोलामा आयो, राप्तीमा पनि यही अनुपातमा ठूलो बाढी आएको भए पूर्वी चितवनमा गम्भीर क्षति हुने अवस्था थियो,’ रत्ननगर चित्रसारी घर भएका सौराहाका होटल व्यवसायी दामोदर रेग्मीले भने । चित्रसारीबाट बाघमारा, बद्रहनी हुँदै बूढीराप्ती खोला मकवानपुरबाट बग्दै आउने राप्ती खोलामा मिसिन्छ ।
चित्रसारी पुलभन्दा दक्षिणबाट पनि बूढीराप्ती बगेपछि सौराहा आउजाउ बन्द भएको थियो । कयर खोलाको बाढी पसेर खैरहनी नगरपालिका–१ बेल्सीमा रहेको बाबा ग्यास उद्योगमा क्षति पुगेको छ । त्यसैगरी लदरी खोला उर्लंदा खैरहनी–३ को ग्रामीण क्षेत्र जोड्ने ३० मिटर लम्बाइको पुल बगेको खैरहनीका मेयर लालमणि चौधरीले बताए । खोलाको बाढी राजमार्गभरि भएको थियो । लदरी खोलाको भेलले राप्ती नगरपालिका–९ रसौलीका तीनवटा घर, एउटा खाजा पसल र तीनवटा बंगुर फार्ममा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, सिन्धुलीमा लब्दाह खोलाले बगाएर बुधबार राति बेपत्ता भएका कमलामाई नगरपालिका–४ का सन्तबहादुर मगरको शव बिहीबार वडा ८ को सिस्नेरीनजिक कमला नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै कमलामाई–८ पैरेमा बिहीबार रामबहादुर बम्जन आश्रमको एक घर पहिरोले पुर्दा हेटौंडा उपमहानगरपालिका–१३ का लरिनबहादुर हिमडुङको घटनास्थलमै मृत्यु भएको सिन्धुली प्रहरीका डीएसपी मनोजकुमार लामाले जानकारी दिए ।
त्यसैगरी, पहिरोले घर पुरिँदा तनहुँको बन्दीपुरमा बिहीबार दुई जनाको ज्यान गएको छ । बन्दीपुर–३ तामुङमा पहिरोले घर पुरिँदा ३० वर्षीया सरस्वती थापा र ७२ वर्षीया हरिमाया सर्किनीको ज्यान गएको हो । उद्धार गरिएका थापाका ससुरा दिलबहादुर, सासू दाउरीमाया र देवर सुवासको उपचार भइरहेको छ । दिलबहादुरकी जेठी बुहारी सरस्वतीको घरको दलानले च्याप्दा राति तीन बजेतिर घटनास्थलमै मृत्यु भएको स्थानीय चित्रबहादुर थापाले बताए । दिलबहादुरकी कान्छी बुहारी र एक छोरा तथा मृतक सरस्वतीका एक छोरा र एक छोरी अघिल्लै दिन आफन्तकामा बस्न गएका थिए । दिलबहादुरको परिवारलाई उद्धार गर्दागर्दै नजिकैको अर्को घरमा पनि पहिरो आएर हरिमायाको ज्यान गएको वडासदस्य खड्काबहादुर थापाले बताए । गाउँपालिका उपाध्यक्ष करुणा गुरुङ नेतृत्वको अनुगमन टोलीले बुधबार मात्रै पहिरोको उच्च जोखिमयुक्त क्षेत्र भन्दै स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो ।
निरन्तरको झरीले ठाउँठाउँमा पहिरो खस्न थालेपछि अनुगमन समितिले जोखिमयुक्त ठाउँको पहिचान गरी नबस्न भनेको गुरुङले बताइन् । उनले भनिन्, ‘बुधबार नै घरमाथिको सडकमा माथिबाट ढिस्को थुप्रिएर बसेको थियो । कुनै पनि समय पहिरो खसेर पुर्न सक्ने अवस्था देखिएकाले हामीले स्थानीयलाई सचेत गराएका थियौं, तर यस्तो घटना भयो ।’
यसैगरी चुँदीखोला बढ्दा तटीय क्षेत्रका घर डुबानमा परेका छन् । व्यास नगरपालिकास्थित छाब्दी खोलाले पक्की पुल बगाएको छ । बाढीले बुद्धसिंह मार्गअन्तर्गत व्यास–१ र १३ वडा जोड्ने छाब्दी दोभानको पक्की पुल बगाएको व्यास–१ का वडाध्यक्ष खरसिं दरैले बताए ।
पहिरोका कारण म्याग्दे गाउँपालिका–५ का ४५ वर्षीय बुद्धिबहादुर परियार र उनका २५ वर्षीय छोरा रोजन घाइते भएको प्रहरीले जनाएको छ । शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दी सिम्लेका ५५ वर्षीया खगिमाया भुजेल र १४ वर्षीय विज्ञान भुजेल पनि घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
गोरखामा बाढीपहिरोका कारण एक दर्जनभन्दा बढी परिवार विस्थापित बनेका छन् । ५ घर बाढीपहिरोले बगाएको छ । सबैभन्दा बढी पालुङटार नगरपालिका क्षेत्रमा क्षति पुगेको छ । पालुङटार–९ खारखोलाको बाढीमा फसेका ८ जनाको सकुशल उद्धार गरिएको छ । खारखोलाको धार दुईतर्फ बगेपछि बीचमा फसेकाको बिहीबार सेना, प्रहरी र स्थानीयले उद्धार गरेका हुन् । अर्जुन तामाङ, रविन तामाङ, दीपेश लामा, मिख्खेबहादुर अधिकारी, शान्ता कार्की, अनिष कार्की, नरबहादुर अधिकारी र उमाकुमारी अधिकारीको उद्धार भएको हो ।
पालुङटार–९ का विमल थापा र मानबहादुर लामाको घर खोलाले बगाएको छ प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताए । पालुङटार–४ वडडाँडाका लोकनाथ देवकोटा, डम्बर देवकोटा र दीपेन्द्र भट्टको घरगोठ पहिरोले बगाएको छ । घाइते भएका स्थानीय सागर गिरीलाई उपचारका लागि पोखरा पठाइएको स्थानीय आशिष देवकोटाले बताए ।
लमजुङको राइनास नगरपालिका–७ गरमबेंसीकी विष्णुमाया गुरुङको ढुंगामाटोले बनेको धन्सार बगाएर घर जोखिममा पारेपछि ४ जनाको परिवार विस्थापित भएको छ । घरभित्र लेदोमाटो पसेकोले विस्थापित भएका हुन् । अन्य ३ घर पनि पहिरोको जोखिममा परेपछि १३ जना विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । मध्यनेपालकै चर्दीखोलामा बाढी आएपछि बजारक्षेत्र जोखिममा परेको छ ।
बाढीले पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ का ४५ घर डुबानमा परेका छन् । वडाध्यक्ष कृष्ण न्यौपानेका अनुसार नमुना स्कुलदेखि पश्चिम कांग्रेसचोकबाट उत्तरतर्फका घर डुबानमा परेका हुन् । महेन्द्र राजमार्गका कारण बाढीको पानीले निकास नपाउँदा बस्ती डुबानमा परेको हो । महेन्द्र राजमार्गदेखि उत्तरको बाढीले निकास नपाउँदा बर्सेनि यो टोल डुब्ने गर्छ । -कान्तिपुरबाट