राष्ट्र बैंकको डेपुटी गभर्नरमा मिश्र र तिम्सिना नियुक्त
सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र निलम ढुंगाना तिम्सिनालाई नियुक्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मिश्र र तिम्सिनालाई डेपुटी गभर्नरमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।
फागुन १८ गतेदेखि डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको पाँच वर्षे कार्यकाल सकिएपछि खाली भएको पदमा सरकारले मिश्र र तिमल्सिनालाई नियुक्त गरेको हो ।
गभर्नरको सिफारिसमा नेपाल सरकार मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था राष्ट्र बैंक ऐनमा छ ।
राष्ट्र बैंकका विभिन्न विभागमध्ये गभर्नरको कार्यालय, वित्तीय जानकारी इकाइ, आन्तरिक लेखापरीक्षण विभाग र कानुन महाशाखाबाहेक सबै विभाग डेपुटी गभर्नरले नै सम्हाल्नुपर्छ । यसकारण पनि राष्ट्र बैंकको क्षमता अभिवृद्धिका साथै प्रभावकारी नियमन तथा सुपरिवेक्षणमा डेपुटी गभर्नरको भूमिका रहन्छ ।