विषाक्त मेथानोल प्रयोग गर्ने ५ स्यानिटाइजर कम्पनीलाई प्रतिवन्ध

मूलखबर संवाददाता
काठमाडौं, २८ भदौ ।

पाँच कम्पनीले उत्पादन गरेका ह्यान्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने मेथानोल नामक विषाक्त रसायन मिसाएको पाइएको छ । औषधि व्यवस्था विभागका अनुसार राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा काठमाडौंँका चार र भक्तपुरका एक गरी पाँचवटा उद्योगले उत्पादन गर्ने ह्यान्ड स्यानिटाइजरमा मेथानोल प्रयोग गरेको पाइएको हो ।

विभागका महानिर्देशक नारायण ढकालले भक्तपुरस्थित नेपाल कायाकल्प उद्योगको इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर, काठमाडौँंस्थित हाइजिन सोप एन्ड केमिकल प्रालिको इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर ओरिजनल, आधार केमिकल्स एन्ड फुड इन्डस्ट्रीको एडभान्स ह्यान्ड स्यानिटाइजर, सर्च केम कम हर्बल प्रडक्टको इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी हर्बल प्रडक्टको सूर्यमुखी ह्यान्ड स्यानिटाइजरमा मेथानोल पाइएको जानकारी दिनुभयो ।

तोकिएको मापदण्डविपरीत विषाक्त रसायन पाइएकाले यी स्यानिटाइजर तत्काल उत्पादन तथा बिक्रीवितरण रोक्न निर्देशन दिएको उहाँले बताउनुभयो ।