प्रिय आनन्द ! तिम्रो बलिदान न मुर्दाको कथा बन्यो, न चिहानघारीको पर्यटन नै !

जानुका धमला

तिम्रो सहादतको सम्मान कसले गर्ने ? कसको नैतिक पूँजी र अधिकार होला र अहिले ? तिम्रो बलिदान के को निम्ति थियो ? तिमी केका विरुद्ध लड्यौ र के प्राप्त भयो ? कसको लागि मात्रै प्राप्त भयो त्यो बिलासिता ? तिम्रो विरताको इतिहासलाई न मैले एउटा मुर्दाका कथाको रुपमा परिभाषित गर्ने सके न चिहानघारीमा आउने पर्यटकलाई तिम्रो वास्तबिक चिहानको सुन्दरताको वर्णन गर्न नै सके ।

प्रिय आनन्द, सत्र वर्ष पुरा भएछ तिमीसँग भौतिक रुपमा विछोडिएको । सत्र वर्षमा मेरो जीबनले भोगेको हन्डर हैरानीमा हिसाब गरेर साध्य नै छैन । कहाँबाट मात्रै सुरु गरुँ र ती दुखका यादहरु । बस्, यो बसाईमा मेरो जीबनले भोगेको तिरस्कार दुःख, कष्टभन्दा पनि मैले तिम्रो मनको सुन्दर कुनाबाट जितेको संसार लेख्दैछु । अबोध तिम्रो मनको सुन्दर पोखरीमा अँधेरी रातको जुनजस्तो देखिने तिम्रो मनको प्रतिबिम्ब, तिम्रै मनको निश्चल पोखरीबाट देखिने मनको सुन्दर जुनलाई तिम्रै मनको किनारबाट संगै बसेर हेर्ने सपना त पुरा भएन तर पनि हारीनँ जीबनसँग र त तिमीसंगै हुँदा देखेका सपनाहरुका धुमिल धर्सा अझै जीबित छन । त्यही सपनाहरु छन् र त म जीबित छु र बाँचेको अनुभुति गर्छु ।

दोरम्बाको घटना पछि पुर्वी कमाण्डको बैठक बसेर फौजी योजना तय भयो, त्यो घटनाको प्रतिरोध गर्न बेथान स्मृति व्रिगेडको १४ औं बटालियनको स्पेशल फोर्सद्धारा सर्लाही जिल्लाको बर्दीवास र १५ औं बटालियनको स्पेसल फोर्सले लालबन्दीको प्रहरी चौकी कब्जा गर्ने योजना तय भयो त्यही योजना सफल बनाउन क्रममा तिमी पहिलोपल्ट एसल्ट ग्रुपको कमाण्ड गरेर जाँदै थियो । हामी फरक–फरक एसल्ट ग्रुपमा थियौं, जाने स्थान पनि फरक थियो । तिमी तिम्रो एसल्ट लिएर कात्तिके देउरालीबाट मरीन खोला तरेर मोथे तोरीबारी तर्फ लाग्यो म त्यहीँबाट पाँचपाण्डप कौवाडाँडा हुदै सर्लाही जिल्लाको डापडाँडा अन्तिम सेल्टरमा पुगे ।

अन्तिम सेल्टरमा पुग्दा ग्यास सिलिण्डर बम बोकेर खुलिएको ढाडको छालामा बनेको कालो दाग अफै पनि जीबित छ म सँग । मलाई खुब रहर थियो त्यो सिलिन्डले बनाएको घाउको दाग तिमीलाई देखाउन । एम्बुस, फायरिङ एम्बुसको अनुभव भएपनि मेरो पनि मोर्चाबन्द्धी लडाईको पहिलो अनुभव थियो । तिमीलाई मेरो सुनाउने कुराहरु सुनाउनै नपाई अफसोच तिमी मैले भोग्ने भौतिक, मानसिक पीडालाई कहिल्यै नसुन्ने नदेख्ने गरी अस्ताईसकेछौ त्यही रात अर्थात २०६० भाद्र १८ गते ।

तिमी भएको आर्कतिर ठुलो आवाज आयो बम पडकीएको । आफनो जिम्मेवारी त छदै थियो । त्यो आवाज सँगै तिमीले पनि दुश्मनको बंकर ध्वस्त पारेर हतियार खोस्यौ होला भन्ने उत्सुकता मनमा लाग्यो मनमनै खुशी भए । कहिले कमाण्डरको कासन आउला रिट्रिटको भनेर ।

रिट्रिट हुने कासन आयो, बाटोमा पेट्रोलिङमा गएको शाही सेनासँग जम्काभेट भयो हाम्रो टोलिसँग दोहोरो फायरिङ्घ चल्यो हामीले उनीहरुको केही थान इन्सासको म्यागजीन र गोलीहरु खोस्यांै । हाम्रो तर्फका एक जना स्थानिय कमरेड मनिश घाईते हुनु भएको रहेछ । उनलाई भोलिपल्ट बेलुका मात्रै हामीले डापडाँडाँमा भेट्यौ उनको हातको पातामा २ वटा इन्सासको गोली लागेका थियो, गोली पास भएको थिएन, रगत बगेर अन्तिम अवस्थामा छटपटाईरहेका थिए हाम्रो सँम्पर्कमा आउँदा । मैले गोली निकालेर सिलाएको त्यो घाउ कस्तो भयो होला ? यो सस्मरण लेख्दै गर्दा क.मनिश प्रति उच्च सम्मान छ । मेरो सिलिण्डरको चिनो जस्तै उनको पनि जनयुद्धको घाईतेको चिनो होला शरिरमा अहिलेसम्म पनि ।

गणतन्त्र आए पछि फापेको भनेको चाकडीबाजहरुलाई मात्रै हो । जसले नेताको तलुवा चाटछ उही तिनीहरुको असल कारिन्दा बने । हिजो जनयुद्धको बेलामा प्राणको बाजी लगाएर लड्नेहरु पाखा लगाईए, यसको पनि इतिहासले हिसाब त पक्कै गर्ला । संकुचित र कुण्ठित केही मान्छे जातियको नेता बने, धार्मीकको नेता बने, बर्ण र समुदायको नेता बने तर भुइमान्छेको नेता कोही बनेनन् यो तन्त्रमा पनि । पहिले वर्गिय मुक्ति विना सबै अधुरो हुन्छ भन्ने नेताहरुले अहिले आएर बर्गिय मुक्ति बिना सबै कुरा अधुरो हुन्छ भनेर कुनै नेताहरुले पनि भनेको सुनिएन ।

निरन्तर एक हप्ता मोर्चाको योजना कार्यन्यनमा नै वित्यो । थकाई निकै थियो हाम्रो टोली सकुशल रिटिट भयो र निश्चित गन्तब्यमा आईपुग्यौ त्यही कौवा डाँडाँमा । ३ महिना अगाडी दमारको स्याउ बाजेको घरबाट छुटिएको हामी गोधुली सन्ध्यासम्म पनि तिमी आएनौ मन बेचैन भयो । तिम्रो ग्रुपको लागी खाना पकाउने जिम्मा पनि मेरो टिमलाई परेको थियो । खाना तयारी गरेर खाद्यन्न स्टोरतर्फ गएँ कहीँ तिमीलाई देख्छु की भनेर, तिमीलाई त्यहाँ पनि देखिन स्टोर काम सकेर तिमीले नै एसल्ट गरेर लिएर गएको साथी बिजयको नजिक गएर सोधे, तपाईहरु गएको मोर्चाको बारेमा के भयो कमरेड ? मेरो प्रश्न सकिने वितिकै सायद उहाँलाई हाम्रो सम्बन्धको बारेमा थाहा थिएन र भने “नुवाकोट घर भएको हाम्र्रो एसल्ट कमाण्डर क.सचिन शहिद हुनुभयो” ।

मैले निकै कोषिस गरेर आफुलाई सम्हालेँ । बोल्न रुन चिच्याउन केही गर्न अनुमति थिएन मलाई । सरासर म बसेको घरमा पुगे त्यहाँ पनि रुने बातावरण थिएन । बेलुकाको खाना खाने समय थियो सबै साथीहरु खानाको तयारीमा थिए । कस्तो बिडम्बना जो जीबनको सबै भन्दा प्रिय मान्छे छ उसैलाई भौतिक रुपमा गुमाउदा समेत मनफुकाएर रुन नपाउने । उसको यादमा चिच्याउन सकिन । मन नभएर नचिच्याएको त कहाँ हो र ? युद्धमा समाहित सिपाहीको पनि मन त कहाँ पथरले बनेको हुन्थ्यो र ? भोलिको रोलकलमा कमाण्डर र सहयात्रीहरुले कस्तो कायर र काथर मुटु भएको रहिछे भन्छन भन्ने डर लागेर पो धित मरुन्जेलसम्म पनि रुन नपाई ल्याएको हो त यो गणतन्त्र हामीले †† अर्थात म जस्तै विधुवा चेलीहरुको पुछिएको सिउँदोले १७ हजार बीर योद्धाहरुको बलिदानले ।

निलो आकाशमा कालो बादल मडारियो सुन्दर सपना खोसियो धर्तीमा अनिष्ट हुँनै लागेको जस्तो त्यो समय मेरो लागी टेकेको जमिन भासिँदै थियो । सेल्टर लिएको घरको एक कुनामा बसेर सम्झीरहेँ, ८ महिना अगाडी बैनी उषा थापाको शहादत भएको ८ महिना पछि प्रिय जीबनसाथी आनन्द कुमार थापाको सहादत । कुन अनुहार लिएर आमालाई फेरी तपाईको छोरा सर्वहारावर्गको लागि शहीद भयो भनौ भनेर ? यो मेरो जीबनको बास्तविक यर्थाथ थियो मैले सबै पीडा सहनु नै थियो । सहेँ, चुपचाप सहेँ । कहिले आँशुले परेली भिजाएर सहेँ, कहिले आधा रातामा परेका सपनाका एैठनहरुमा सहेँ, जे जती सहेँ, चुपचाप रहेँ, मन मनै सहेँ ।

म हेडक्वाटरमा उपस्थित भएँ । त्यतिखेरका व्रिगेड कमाण्डर हरिबहादुर श्रेष्ठ, कमिसार सन्तु दराई र कमाण्ड इन्चार्ज हालका बहालवाला सभामुख अग्नीप्रसाद सापकोटा थिए । अहिले सम्झँदा लाग्छ बडो अचम्मले सम्झाई बुझाई भयो मलाई । शहीदको रगत खेर जान दिने छैनौँ । भोलिपल्ट रोलकलमा शोकसभा गरियो आनन्दको नाममा । रोलकलमा भनियो आँट चाहिन्छ त क.सन्ध्याको जस्तो, त्यो बेला मलाई बहादुर देख्ने मेरा कमाण्डर कमिसारहरु, नेताहरु अहिले मलाई चिन्दैनन किनकी, म मेरो परिश्रममा रमाउँछु, चाकडी गर्न जान्दिनँ । त्यही रोलकलमा आनन्द कुमार थापा लगाएतका कमरेडहरुको सपना पुरा गर्नको लागि कुनै पनि कसुर बाँकी राख्ने छैनौ भन्नेहरुबाट नै युद्ध र बलिदानीमाथि घात भएको छ । १७ बर्षमा यो कुरा पनि प्रमाणित भयो की यो सब भन्ने कुरा मात्रै रहेछ संसद भबन भित्र छिरे पछि त्यो हलको मर्यादाले हिजोको बलिदानलाई नजरअन्दाज गर्दोरहेछ । मलाई तिम्रो बलिदानसँग गुनासो छैन, गुनासो छ त हिजोका असरल्ल सपनाहरुलाई कुल्चनेहरुसँग बर्गिय सपनामा कुठाराघात गर्नेहरुसँग ।

एउटा सम्झनामा बितेको पल मन दुखाईको प्रवाह थिएन त्यो बेला । मात्र पर्वाह थियो त वर्गदुश्मनको किल्ला भत्काएर सुनौलो सपना जनताको घर आँगनमा ल्याउने । हिजोका नायकहरु खलनाएकमा फेरिएलान र म तिनीहरुको विरुद्धमा खवरदारी केही लेखौँला भनेर सोचेको पटक्कै थिइनँ ।

मलाई बाँचुन्जेल कसैको गुलामी र उसको असल कारिन्दा बन्नु छैन । सत्य र न्यायको पक्षमा सकेको चिच्याउन सकुँ । ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर थोरै भए पनि सामुहिक स्वार्थमा रमाउन सकुँ । त्यही आर्शिबाट र सार्थकता मिलिरहोस् तिम्रो आत्माबाट ।

सजीब प्राणी त्यसमा पनि मान्छे भएर जन्मीएपछि तिरस्कृत होइन, पुरस्कृत भएर बाँच्नुपर्छ, तिमीले भनेका कुराहरु आज पनि उतिकै प्यारो लाग्छ मलाई । तिमी जनमुक्ति सेनाको सदस्य मात्र थिएना, प्रतिरोधको सकृयता पनि थियो । साँचै तिमीले भनेको जस्तो लेख्नुको अर्थ भौतिक विलासिता नभएर उच्च मानवताको अभ्यासकर्ता कम्युनिष्ट थियौं । लेख्नको लागी लड र लडनको लागि लेख भन्ने मान्यतालाई आत्मसाथ गरेर नै बन्दुकको गोली जस्तै कलम पनि तिखो थियो तिम्रो ।

क्यामेराले खिचिएका तिम्रो तस्विरहरु कलरबिहिन भए, तर तिम्रो यादहरु झन उज्जेलित रंगिन कलरमा सजिरहे । त्यही यादहरुले सच्चा जीबनलाई बाँच्न सिकायो र सच्चाईको जीबन बाँचीरहेको छु । म जन्मे हुर्केको समाजले अझ पनि मलाई निर्धक्क बाँच्न र मेरो पौरखमा रमाउन दिदैन ! मैले रोजेको आत्मनिर्भरता तिनीहरुलाई पटक्कै मन पर्दैन । सधै दोस्रो दर्जाको नगारिक सोच्नेहरुले म मेरो परिश्रममा खुलेर हाँसेको पनि मन पराउदैन †† त्यतीखेर असाध्यै प्यारो लाग्छ, तिम्रो भौतिक उपस्थिति फेरी याद गर्छु, कुनै रात तिमीले भनेका थियौ “यदि मुक्तिको यात्रामा हामी दुईमध्ये म समरको यात्रामा पहिला बिलाएँ भने पनि बाँकी जीबनलाई भौतिक, शारीरिक र मानसिक अवस्थामा आउने हजारौ चुनौतिहरुलाई सम्मान गरेर अगाडी बढनु यही काफी छ जीबनमा मार्ग निर्देशनको लागि बाँकी दुनियाँसँग त म एक्लै लडे र लडछु नै” ।

आन्दोलनको नेतृत्व गरेको नेताहरु अहिले सहिद र वेपत्ता योद्धालाई अंशवन्डा लगाउँदैछन् । सहयोद्धाहरु रुपमा त छन्, आत्मा र चिन्तनसहित छन् कि छैनन् ? खोज्नै पर्ने हुन्छ । तिमी जिबित भएको भए, कसलाई राजनीतिक नाइके वा नेता मान्थेउ होलान् ? आजको प्रश्न छ ? तिम्रो बलिदानमा तिनले चिच्याउने कर्कश आवाजभित्र जालझेलको मार्गचित्र प्रष्ट देखिन्छ ।

कम्युनिष्ट शासकहरुमा हुनुपर्ने चरित्रबारे दार्शनिक प्लेटोले भनेका थिए–‘उनीहरु ब्यक्तिगत सम्पतिबिहिन हुनुपर्छ, शिक्षित दार्शनिक हुनुपर्छ, ब्यक्तिगत र पारिवारीक जीबनभन्दा माथि उठेको हुनुपर्छ । आम मानिसको भन्दा चिन्तन, चेतना र बिवेकको आधारमा उच्चकोटिको एवंम लोभ मुक्त हुनुपर्छ । त्यसो भयो भने मात्रै एउटा सुन्दर राज्यको सम्भाबना हुन्छ । के यो सम्भब छ नेपालका कम्युनिष्ट पार्टीका नेताहरुमा ? सोचनिय प्रश्न छ ।

जब एउटा क्रान्तिकारी अभियन्ता सर्वहारावर्गको बर्ग फेर्ने सपना देख्छ र अजम्मरी सपनालाई सम्झन्छ, बर्तमानलाई नियाल्छ भविश्यको बारेमा गम्छ, तब हृदयका भावनाहरु कुलेर आक्रोशको शब्दहरु बन्छन् तब मान्छे सेन्टीमेन्टल भइदिँदो रहेछ । प्रतिकृयाहरु अनेक तरिकाले ब्यक्त हुन्छन । शक्तिहरु आदेशमा हाँकिन उर्दी गर्छन तर विद्रोहीहरु संसारमा कहाँ पो उर्दीमा हाँकिए र ? उर्दीमा नहाँकिएका ज्वारभाटा विरुद्ध शक्तिसामु नैतिकता धितो नराखेका महान शदिह आनन्द कुमार थापा र क राजेश प्रति लाखौ श्रद्धासुमन । अजर अमर सम्झना प्रिय आनन्द ! तेही घटनामा घाईते भएर अहिलेसम्म उपचार नपाउनु भएको घाइते कमरेड राम पाण्डे, क.उदिप (दोलखा) दिनेश लामा (नुवाकोट) का कमरेडहरु प्रति उच्च सम्मान छ !!