लिदी पहिरोमा बेपत्ता ३९ मध्ये हालसम्म ३३ जनाको शव भटियो
जुगल गाउँपालिका-२, लिदी पहिरोमा बेपत्ता ३९ जनामध्ये हालसम्म ३३ जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले अझै छ जनाको खोजी भइरहेको जानकारी दिनुभएको छ ।
यसैबीच राससका अनुसरा लिदी पहिराका विस्थापितलाई स्थानान्तरण कार्य थालिएको छ । जुगल गाउँपालिकाकै वडा नं १ सेलाङको बाँसखर्कमा सार्ने तयारी गरिएको हो । हाल पहिलो चरणमा सबैलाई टेन्टमा राख्ने गरी तयारी भइरहेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो । सबै परिवारलाई टेन्टमा राख्ने गरी आवश्यक सामग्री हिजो ढुवानी गरिएको छ ।
बस्ती स्थानान्तरणका लागि विभिन्न जिम्मेवारी छुट्याइएको छ । जसअनुसार जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यक टेन्ट उपलब्ध गराउने निर्णयबमोजिम हजो ९८ थान टेन्ट गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । गाउँपालिका कार्यालयले बाँसखर्कमा रहेको खुला क्षेत्रमा जग्गा सम्याउने, शिविर व्यवस्थापन गर्ने तथा सडक पूर्वाधारको व्यवस्थापन गर्नेछ । जिल्ला आयोजना कार्यान्वयन एकाइले आवास व्यवस्थापन र डिभिजन खानेपानी कार्यालयले खानेपानीको व्यवस्थापन मिलाउने छ भने जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य सेवाको प्रबन्ध मिलाउने छ । रेडक्रसले शौचालय व्यवस्थापनको जिम्मा लिएको छ ।
प्रदेशसभा सदस्य सुरेश नेपाल, पूर्वसांसद सुवास कर्माचार्यसहितको टोली स्थलगत भ्रमण गरी स्थानीयवासीसँग छलफल गर्नुभएको थियो । आइतबार विहानैबाट नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी खटिएर टेन्ट जडान तथा सुरक्षाको प्रबन्ध मिलाउने श्रेष्ठले बताउनुभयो । नौ दिनअघि जुगल–२ लिदीको लामागाउँ पहिरामा बेपत्ता भएकामध्ये ३२ को शव फेला परेको छ भने सात अझै बेपत्ता छन् ।