फेरी एकपटक गतिशील प्रचण्डको आवश्यकता
अब फेरि प्रचण्ड एक पटक आवाज बिहिनहरुको आवाज अनि राष्ट्रिय स्वाधिनताको बिगुल बनेर बज्नुपर्छ ।अहिलेको समस्याको समाधान बन्नुपर्छ। पार्टी एकतालाई नयाँ शिराबाट बचाँउदै समाजवादको लक्ष चुम्नसक्ने नयाँ ढंगको पार्टी निर्माणमा निर्ममतापुर्बक पहल गर्नुहोस।
नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशन वि.सं २०१९ मा विश्व कम्युनिस्ट आन्दोलनमा चलेको महाविवाद (The Great Debate)को रापतापको बीचमा सम्म्पन्न भयो। परन्तु तत्पश्चात नेपालको कम्युनिस्ट आन्दोलन विभाजनका शृङ्खलाबद्ध घटना परिघटनाका निकै अफ्ट्यारा बाटोबाट अगाडि बढ्यो। जन्मदाताको दायित्व अरुको भन्दा बढी नै हुने रहेछ क्यारे । क. पुष्पलालले हद दर्जाका आरोप र अपमानका विष पिँउदै जीवन पर्यन्त कम्युनिस्ट आन्दोलनलाई सहि बाटोमा हिडाउने प्रयास गर्नुभयो । कस्तो विडम्बना भने विचारधारात्मक र राजनैतिक लाइन उहाँको पारित हुने तर नेतृत्वमा अर्को टुप्लुक्क आईपुग्ने।अनि कसरी उहाँ प्रस्तावित राजनैतिक कार्यदिशाको कार्यन्वयन हने ? यो त हुने कुरै थिएन र भएन पनि। परिणाम के भयो ? कोहि दरवार पसे, कोहि पलायन भए र आन्दोलन बिभाजन ,फुट गद्दारी र विसर्जनको समस्या थपियो।
नेपाली कम्युनिस्ट आन्दोलन आफूभित्रका समस्या र विश्व कम्युनिस्ट आन्दोलनबाट समेत सिक्षा लिदै पुन आन्दोलनलाई एकीकृत र केन्दृत गर्दै अगाडि बढाउने प्रयासहरु भए।
२०३५ मा ने.क.पा. (माले)को रुपमा शुरु भएको एकीकरण २०४७ मा पुन: एकताबद्ध हुँदै क. मदन भण्डारीको बैचारिक नेतृत्वमा त्यो धार ने.क.पा. (एमाले)को रुपमा विकास भयो। संसारवाट समाजवादी शिविरहरु र देश्हरु ढलेको अवस्थामा नेपालमा भने उदाउँदो सुर्य जस्तै रापिलो तेजिलो बन्दै थियो कम्युनिस्ट आन्दोलन।यो पार्टिले शान्तिपुर्ण आन्दोलनबाट नै परिवर्तन सम्भव छ भन्ने निश्कर्ष सहित पुर्णत: वैधानिक पार्टीका रुपमा संसदमा सशक्त शक्तिका साथ उदायो। यहि पार्टीको नेतृत्वमा राष्ट्रियता र जनजिविकाका सवालमा आन्दोलनहरु भए।परन्तु,महाकाली सन्धीमा आइपुग्दा धर्मराउन पुग्यो र विभाजनको अर्को पिडा सहनु पर्यो। यसै गरि क मोहन विक्रमको नेतृत्वमा पुनर्गठित ने क पा (चौथो महाधिवेशन) पनि राजनैतिक कार्यदिशाका विषयलाई लिएर पटक पटक विभाजित हुन पुग्यो। अचम्मको संयोग भन्नु पर्छ शान्तिपुर्ण र सुधारवादी राजनैतिक कार्यदिशा अबलम्बन गर्ने पार्टिहरुको एकता प्रकृया र दिर्घकालिन जनयुद्धको कार्यदिशासंग निकट पार्टीहरुको एकता प्रकृयासंग संगैजस्तो भएका छन् क्रमशः क.मदन र क.प्रचण्डको नेतृत्वमा २०४६ सालको जनअन्दोलन पश्चात।
यसरी २०४७ मा क. प्रचण्डको नेतृत्वमा ने क पा (एकताकेन्द्र) बन्यो र संसद्को क्रान्तिकारी उपयोग पनि गर्ने राष्ट्रियता ,जनजिविकाका बिषयलाई ब्यवस्थित गर्दै दीर्घकालीन जनयुद्दमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने राजनैतिक लाइन पारित भयो। यहि राजनैतिक कार्यदिशाका आधारमा दीर्घकालीन जनयुद्धको लागि क्रान्तिकारी पार्टी ,सेना, संयुक्त मोर्चा निर्माणसहित अन्य तयारीका कामहरु सम्पन्न गर्दै २०५२ साल फाल्गुण १ गते पुरानो राज्यसत्तालाई मागपत्र दिएरै, लुकेर होइन, घोषणा गरेरै जनयुद्दको शुरूवात भयो। १० वर्ष सम्म चलेको यो युद्द्ले थुप्रै चिजहरु गुमायो तर सामन्तवादको अन्त्य गर्दै मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना भने गरिछाड्यो । यसरी २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टिले गर्ने भनेको नयाँ जनवादी क्रान्ति नेपाली मौलिकतासहित आधारभुत रुपमा पूरा भएको छ। यो पुरा हुनुमा क.प्रचण्डको भुमिका प्रमुख त रह्यो नै ,त्यसरी नै क.बाबुराम भट्टराई ,क.माधव नेपाल, क.बामदेव, क.झलनाथ, क.के पि ओलिको भुमिका थियो नै।
अब नेपालमा जनवादी क्रान्तिका बाँकि कार्यभारहरु बैज्ञानिक समाजवादी कार्यक्रमको रणनिती अन्तर्गत पूरा गर्न सकिन्छ, त्यो पनि शान्तिपुर्ण प्रतिस्पर्धाबाटै संभव छ भन्ने कुरामा दुबै धारका प्रमुख पार्टिहरु र नेतृत्व एकै ठाउँमा आइपुगेको र एकरुप बुझाईको निकट भएको कुरा छर्लङ्ग हुन्छ । तसर्थ तत्कालीन कार्यक्रम, संघर्षको स्वरुप, कार्यनीतिक बिषयमा खासै भिन्नताहरु रहेनन् । यहि निश्कर्ष, कार्यकर्ताको चाहना र राष्ट्रको आवस्यकताको जगमा चुनावी मोर्चा हुँदै पार्टी एकतासम्म आउनु र झन्डै दुई तिहाइ मत सहित सरकारको नेतृत्वमा पुग्नु आजको विश्व परिस्थितिमा एक दुर्लभ राजनैतिक परिघटना हो, जुन आफैमा एक महान् उपलब्धि हो।
कम्युनिस्ट पार्टीहरु बीच एकता किन ? उत्तर स्पष्टै छ, हाम्रो साझा घोषणापत्र (जुन जनअनुमोदित पनि भएको छ) का आधारमा अगाडी बढ्दै लोकतान्त्रिक प्रक्रियाबाटै नेपाललाई हाम्रै विशिष्टता सहितको स्वाधीन ,आत्मनिर्भर र एउटा मोडल समाजवादी देश बनाउने । राजकिय सत्ता, प्राकृतिक सम्पदा लगायत सम्पुर्ण क्षेत्रमा उत्पीडित समुदायको नेतृत्व र पहुँच सुनिश्चित गर्दै वर्गविभेद कम गर्दै समतामूलक समाज र सामाजिक ब्यवस्था स्थापना गर्ने। बैज्ञानिक समाजवादको यी उद्देश्यहरु पुरा गर्न सोही अनुरुपको विचार, पार्टी, संगठन ,जननीति कार्यशैली ,संस्कृति सहितको राजनीतिक कार्यदिशा र कार्यक्रम चाहिन्छ।
आज नेकपा २/२ जना अध्यक्ष हुँदा पनि विधि पद्धति अनुरुप चलेको छैन। तसर्थ पार्टीलाई बिचारधारात्मक रुपमा एकताबद्ध बनाउदै बैज्ञानिक सामाजवादको कुशल नेतृत्व र ब्यवस्थापन गर्न सक्ने सुयोग्य नेतृत्व र बलिदानीभाव बोकेका सुस्पष्ट १० औं लाख कार्यकर्ता उत्पादन र परिचालन गर्दै सरकारका काम कार्वाहीलाई जनपक्षीय बनाउनसक्ने ढंगले निर्माण गर्न ढिलो भैसकेको छ।
एक चोटि आफ्नै मनलाइ सोधौं त ? तपाइँ हामिलाई यो स्थानसम्म पुर्याउन कतिको काख रित्तिएको छ, कति चेलिको सिंउदो पुछिएको छ ? आँसु र रगतका कत्रा कत्रा नदीहरु बगेका छन। ठुलो वलिदानको जगमा खडा भएको पार्टी, जनताले सबैभन्दा बढी बिश्वास गरेको पार्टी सन्चालन गर्ने विधि पद्धति यस्तै हो त ? बैठक बोलाउने अनि न आउने ?
आजको बहसको केन्द्र विचार, राजनीति ,पद्धति ,संस्कृतिलाई बनाउनु पर्छ, न कि को मन्त्री भयो भएन, भन्नेमा । असल र योग्य मन्त्री बनाए पनि पार्टीले हो खराब बनाए पनि पार्टिले नै हो। पार्टी जस्तो छ त्यस्तै बन्ने न हो। त्यस्कारण सबै भन्दा पहिला पार्टी केन्द्रको बैठक बस्न पर्यो। पार्टी र सरकारका तमाम कामहरुको निर्ममतापुर्वक समिक्षा हुन पर्यो, पार्टी बिधान अनुसार अनुशासित ढंगले चलाउनु पर्यो, सरकारलाई पार्टीले नेतृत्व गर्दै घोषणापत्र अनुसार चलाउनु पर्यो भन्ने आवाज वा प्रस्ताव बेठिक छ र ? बिधानमा ब्यवस्था भए अनुसारले पार्टि बैठक चल्न पर्दैन ? बाहिर मलाई यसले, उसले चुच्चे नक्सा छपाए बापत हटाउन लागे भनेर चिच्याएर हुन्छ ? कुरा प्रष्ट छ चुच्चे नक्सा पनि पार्टीको निर्देशनमा सरकारले जारी गरेकै हो।प्रधानमन्त्री आलोपालो हुने भन्ने सहमती भएता पनि जनतामा सन्देश राम्रो जान्न तपाइ नै ५ वर्ष हुनुहोस भनेर अध्यक्ष क प्रचण्डले भन्दा उहाँ कसरी पदलोलुप ? उहाँले पार्टीलाई बिधि पद्धति अनुरुप चलाऔं भन्दा के गलत भयो ?
पार्टीका बैठकहरु बसेर एकता प्रक्रिया पूरा गर्ने, राष्ट्रियताका बिषय अनि सरकारका कामकारबाही लाई जनपक्षीय बनाउदै जनतासंग जोड्नका लागि पार्टी सदस्यहरु परिचालन र कार्यक्रम दिनु परेन ? आखिर प्रचण्ड, माधव कमरेडहरुले यहि त भन्नुभएको छ।एक चोटि आफ्नै मनलाइ सोधौं त ? तपाइँ हामिलाई यो स्थानसम्म पुर्याउन कतिको काख रित्तिएको छ, कति चेलिको सिंउदो पुछिएको छ ? आँसु र रगतका कत्रा कत्रा नदीहरु बगेका छन। ठुलो वलिदानको जगमा खडा भएको पार्टी, जनताले सबैभन्दा बढी बिश्वास गरेको पार्टी सन्चालन गर्ने विधि पद्धति यस्तै हो त ? बैठक बोलाउने अनि न आउने ? आए पनि निर्णय हुन नदिने वा गर्न नसक्ने यस्ता हुतिहारा पाराले पार्टी चल्छ ? भनिन्छ घरको स्थिती बुझ्न शौचालय, देशको बुझ्न बिद्यालय र समाज अनि राष्ट्र बुझ्न पार्टी कार्यलय जानुपर्छ। कस्तो बिडम्बना ! हाम्रो त पार्टीको बैठक पार्टी कार्यालयमा हुदैन, लाजमर्दो कुरा !
अहिले ने क पा (नेकपा)मा संकट छ। एकल सरकार सन्चालन गरिरहेको पार्टी पनि भएका कारण देशमा एक प्रकारको राष्ट्रिय संकट त आउदैन, आशंका छ। यस्तो असाधारण परिस्थितिमा साधारण ढंगले सोचेर पुग्दैन। खुमलटार बालुवाटार फेरि खुमलटार बालुवाटारको गोल्चक्करबाट कहि कतै पुगिन्न। यो निरन्तरतामा होइन, परिणाममुखी छलफल र निर्णयमा क्रमभंगताको आवश्यक छ। कमरेड के.पि.कै शब्दमा ने.क.पा. एउटा बिशाल जेट हो, जहाँ दुइजना पाइलटहरु हुनुहुन्छ। तपाइहरु दुबैले यो जेटको सफल उडान र अवतरण गर्न सक्नुपर्छ । के थाहा यात्रामा आँधितुफान ,यान्त्रिक गडबडी जे पनि हुनसक्छ, अनि पाइलटहरुबीच सम्बाद हुन पर्दैन, त्यतिमात्र हो र ? राडार मार्फत अन्य ठाउँमा सम्पर्क राख्न पर्दैन ? उसैको निर्देशन अनुरुप उदाउनु पर्दैन ? जता पायो त्यतै दौडेर दौड जितिँदैन ट्र्याकमा दौडिनु पर्छ। वहाँलाई मात्र ताजुब, अचम्म र आश्चर्य लाग्ने ! हामिलाई पनि लागेको छ। क.के.पि. को नेतृत्वमा देश साच्चै नै स्वाधीन र विकसित हुन्छ भन्ने बिश्वास थियो तर आज त्यो धर्मराएको छ किनकी वहाँ मेरो निर्णय लागू नहुने हो भने पार्टी बैठक हुनै दिन्न भन्ने गलत अडान लिन पुग्नु भयो।
अनि क.प्रचण्ड तपाइलाई के भएको छ ? तपाईं नै होइन आफ्नो पार्टीका नीति कार्यक्रम (गणतन्त्र,संविधान सभा,समानुपातिक,संघीयता) अन्य पार्टिका नेताहरुमार्फत समेत सम्प्रेषण गराउन सक्ने ? पेरुबाट शिक्षा लिदै नेपाली जनयुद्धको विमानलाई पहरोमा ठोक्किनबाट जोगाएर बिमानलाई आफैले निर्माण गरेको गणतन्त्रको बिमानस्थलमा सकुशल अवतरण गराउने पाइलट तपाइ न्नै होइन र ? तपाई गर्जिदा उत्पीडित लिङ्ग ,क्षेत्र र वर्गका समुदायले आड भरोसा र सुरक्षाको अनुभुति मात्र होइन त्यो आवाजमा सुन्दर भविष्य देख्दथे। भ्रष्ट ,गुन्डाहरु, महिला हिंसा ,जातिय बिभेद गर्ने समाजका बिकृत तत्वहरु आवाजमै हराउँथे। तपाइले आव्हान गर्दा बलिदानको कोटा चुक्ता गर्न को तयार थियन र ? तपाईं नै होइन र कहिले दायाँ कहिले बायाँ तिर गरेर आन्दोलनको जेट उडाउने पाइलट ?
अब फेरि प्रचण्ड एक पटक आवाज बिहिनहरुको आवाज अनि राष्ट्रिय स्वाधिनताको बिगुल बनेर बज्नुपर्छ ।अहिलेको समस्याको समाधान बन्नुपर्छ। पार्टी एकतालाई नयाँ शिराबाट बचाँउदै समाजवादको लक्ष चुम्नसक्ने नयाँ ढंगको पार्टी निर्माणमा निर्ममतापुर्बक पहल गर्नुहोस। यो पार्टीको एकता नयाँ उचाईमा मात्र उठ्दैन अन्य बाँकी रहेका पार्टीहरु पनि एकताबद्द हुनेछन।हामिले हिजो चिनेको प्रचण्ड भनेको पार्टिभित्रको र बाहिरको पनि ल्याङ्ल्याङे अवस्थामा अल्मलिने, पोखरी जस्तो जमेको गतिबिहिन पानी होइन, निरन्तरतामा क्रमभंग गर्न सक्ने र नदीजस्तो गतिशिल प्रवृति हो। फेरि एकपटक आव्हान गर्नुहोस ! अहिले कोहि यताउता, दायाँबायाँ जस्तो देखिए पनि सम्पुर्ण बैज्ञानिक समाजबादका पक्षधरहरु अनि सम्पुर्ण नेता कार्यकर्ताहरु पार्टिको मेरुदण्ड र खम्बा बनेर एकाएक ठडिनेछन्। तसर्थ मुलुकलाई फेरि एकपटक क्रमभङग गर्नसक्ने गतिशिल प्रचण्ड चाहिएको छ।
-(पुर्व विद्यार्थी नेतृ खनाल हाल नेकपा बागमती प्रदेशकी सचिवालय सदस्य तथा सांसद हुन्)